काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले जनताको पीडामा मल्हम लगाउन नसकेको सरकारले दुःख बुझ्न पनि असफल रहेको बताएका छन् ।
जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले गरेको डिजिटल संवाद कार्यक्रममा बोल्दै उपसभापति निधीले भ्रष्टाचार पनि कोरोनाको कालमा ब्यापक भएको बताए ।
कोरोना महामारीलाई व्यवस्थापन गर्दै रोक्न असफल भएको सरकारले भ्रष्टाचार मौलाउन दिएको र संरक्षण गरेको विरोधमा असार २ गते देशभर विरोध कार्यक्रम राखिएको जानकारी दिए ।
एकदलीय अधिनायकवादी संरचना लाद्न सरकारले पृष्ठभूमि बनाइरहेको निधीले बताए ।
कांग्रेसको आगामी महाधिवेशनको बारेमा पनि भएको छलफलमा निधीले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै वैचारिक प्रष्टता पनि राख्नुपर्ने बताए।
‘सामाजिक दूरी कायम गर्दै महाधिवेशन गर्न कति सम्भव छ त्यसमा सल्लाह गरौं’ भन्दै निधीले हैन भने वीपी कोइरालाको पालामा झैं जिल्ला जिल्लाबाटै महाधिवेशनमा मतदान र नीतिगत छलफल गर्ने मोडालिटी बारेमा पनि चर्चा गर्न सकिने बताए ।
नत्र फागुनमा हुने महाधिवेशनलाई ६ महिना पछाडि धकेल्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यद्यपि यसबारेमा पार्टीमा औपचारिक रुपमा छलफल नभएको बताए ।