arrow

सर्लाहीको सीमामा सशस्त्र प्रहरी र भारतीयबीच झडप, गोली लागि एकको मृत्यु

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
apf4.jpg

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार बिहान सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

भारतीयहरू नारायणपुर नाका हुँदै शुक्रबार बिहानै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा भारतीयहरू सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको हतियार नै खोसेर नेपालतर्फ आउन खोजेपछि झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागि भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीको जिल्ला अस्पताल मलङ्गवा र भारतीयहरूको सीमापारीकै अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा भारतीयहरूले खोसेर लगेका हतियार फिर्ता ल्याइसकिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए । झडप भएको स्थानमा अहिले व्यापक सुरक्षाकर्मी तैनाथ छन् । थप विवाद हुन नदिन सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ र प्रहरी उपरीक्षक विश्वमणि पोखरेल आफैँ नारायणपुर नाका पुगेका छन् ।

भारतीयहरू जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा केही दिनअघि सर्लाहीको विष्णु गाउँपालिकास्थित पकडी नाकामा पनि झडप भएको थियो ।



लोकप्रिय समाचार
नयाँ