रुपन्देही । पश्चिम रुकुम चौरजहारी नरसंहार घटना जातीय विभेदका कारण भएको प्रतिवेदन सार्वजनिक भएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको नेतृत्वमा नागरिक तहको मानव अधिकारकर्मी र पत्रकारहरुको एक अध्ययन अनुगमन टोलीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
शुक्रवार (आज) उक्त टोलीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको प्रतिवेदनले चौरजहारी नरसंहार घटना अन्तर जातीय प्रेमलाई (केटी तर्फको ) परिवारले अस्विकार गरेकै कारण परिवार, स्थानिय जनप्रतिनिधिको नेतृत्वमा सिंगो गाउँ नै आक्रमणमा उत्रिएको खुल्न आएको वताएको छ ।
यही जेठ १० गते जाजरकोट भेरी नगरपालिका वडा न.४ रानागाउँका नवराज विकलाई रुकुम पश्चिम चौरजहारीकी सुष्मा मल्ल मार्फत् गाउँमा निम्तो दिई निश्चित् व्यक्तिहरुको योजनामा क्रुर र बर्बरतापूर्ण तवरले सामूहिक हत्या भएको र अन्यलाई कुटपिट गरिएको सो टोलीले गरेको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनका क्रममा फेला परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सिंगो गाउँलेको आक्रमण बाट नवराज विक सहित टिकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा केही पछि खोजीकार्य गर्दा भेटिएको थियो ।
पत्रकार सम्मेलनमा वोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उप–सभापति गोविन्द खनालले स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रहरी प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीवीच घटना बारे छलफल अन्तरक्रिया गर्दा, घटना जातीय छुवाछुत जस्ता अमानवीय कुप्रथाका कारण घटेको स्पष्ट देखिएको जानकारी गराएका थिए ।
यसैविच घटनाको स्थलगत अध्ययन र अनुगमनले जातीय विभेदबाट उत्पन्न भएर ६ जना यूवाहरुको हत्या हुँदा पनि जनप्रतिनिधि, राजनितिक दल लगायत सर्कल मौन हुनु निकै रहस्यमय देखिएको पूर्व सांसद् तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एंव नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्वअध्यक्ष विनोद पहाडीको भनाई छ ।
अध्यनन अवलोकनका सदस्य रुपन्देहीका बरिष्ठ पत्रकार एंव अधिवक्ता बालकृष्ण चापागाईले रुकुम पश्चिम सोती घटना अन्तर जातीय प्रेमलाई गैरदलित अभिभावकले अस्विकार गरेकै कारण घटेकोमा दुई मत नरहेको बताएका थिए ।