arrow

सरिता गिरीसँग उपेन्द्र यादव पनि हैरान, संशोधन प्रस्ताव फिर्ता नलिए निस्कासन सम्मको तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
upendra_sarita.jpg

काठमाडौ । ‘लौ न सरिता गिरीलाई प्रस्ताव फिर्ता लिन लगाउनु पर्‍यो । मसँग त कुरा गर्न मान्दिनन् ।’ शुक्रबार दिउँसो नव गठित जनता समाजवादी पार्टीको पदाधिकारी बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले बोलेका संवाद हो यो । उनले बैठकमा सहभागी पार्टीका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई लक्षित गर्दै भने, ‘तपाईले भनेको मान्छिन कि, एक पटक प्रयास गर्नु होस त ।’ यादवले भने, ‘मुलुकको कुरामा आन्तरिक विवाद देखाउनु भएन नि।’

पदाधिकारीको बैठक बोलाउनु अघि यादवले गिरीलाई टेलिफोनमा सम्पर्क गर्ने प्रयास गरेका थिए । यस्तो प्रयास उनले बिहीबार पनि गरे । गिरीले बुधबार संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराइन । संशोधन प्रस्ताव दर्ता गराएको थाहा पाउने वित्तिकै प्रस्ताव फिर्ता लगाउन उनले गिरीलाई दुई तीन पटक टेलिफोन गरे । तर गिरीले आफ्नै पार्टी अध्यक्षको फोन रिसिभ गरिनन् ।

यादवले  बुधबार साँझ तत्कालिन समाजवादीका महासचिव रामसहाय यादव, प्रमुख सचेतक उमाशंकर अरगरैया, प्रदीप यादवलाई गिरीको निवासमा पठाए । रामसहाय, प्रदीप तथा अरगरैया गिरीको निवासमा गइ प्रस्ताव फिर्ता लिन पार्टी अध्यक्षको निर्देशन सुनाए । यति मात्र नभइ, पार्टीले लेखेको औपचारिक चिठ्ठी समेत उनीहरूले बुझाए । चिठ्ठीमा प्रस्ताव फिर्ता लिन निर्देश दिदै फिर्ता नलिए कारबाही गर्न पार्टी बाध्य हुने भनिएको थियो । 

गिरीले चिठ्ठी त बुझिन तर यादवले पठाएको टोलीलाई त्यती राम्रो रेस्पोन्स गरिनन् । उल्टै अरगरैयालाई प्रश्न गरिन, ‘तपाई त पार्टीको प्रमुख सचेतक हुनुहुन्छ । अहिलेसम्म तपाइले मलाई मैलै बोलेको विषयमा किन सचेत गराउनु भएन ? ‘राम्रो बोल्नु भयो’ मात्रै भन्नुभयो ?’ गिरीले प्रस्ताव फिर्ता नलिने अडान लिइन । उल्टै संसदीय दलको बैठकमा सबै कुरा भन्ने बताइन । 

शुक्रबार साँझ गिरीले संशोधन प्रस्ताव फिर्ता लिन ७२ घण्टा बितिसकेको छ । सभामुखले यस विषयमा निर्णायार्थ प्रस्ताव पेश गर्नु अघिसम्म प्रस्ताव फिर्ता लिन सकिने कानुनी व्यवस्था छ । संसद्मा प्रस्ताव प्रस्तुत हुनु अघि नै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन लगाउने पार्टीले निर्णय गरेको छ । यसकोलागि शनिबार विहान ११ वजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा अनिवार्य उपस्थिति हुन पार्टीले गिरीलाई निर्देशन दिएको छ । प्रमुख सचेतक अरगरैयाले बैठकमा अनिवार्य उपस्थिति हुन गिरीलाई मौखिक निर्देशन पनि दिएका छन् । ‘संविधानको अनुसूचि ३ मा संशोधन गर्न ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेका छौ’ अध्यक्ष यादवले भने, शनिबार विहान पार्टीका संसदीय दलको बैठक बोलाएको छौ । सो बैठकबाटै उहाँ (गिरी)लाई संशोधन प्रस्ताव फिर्ता लिन लगाउने छौ ।’

संसदीय दलको बैठकमा गिरीले प्रस्ताव फिर्ता लिने घोषणा नगरे पछि या बैठकमा उपस्थिति नभए पछि उनलाई कारबाही गर्ने तयारी पार्टीले गरेको छ । पार्टीको नीति विपरित संशोधन प्रस्ताव फिर्ता नलिएमा गिरीलाई कारबाही गर्ने निष्कर्षमा पार्टी पुगेको पार्टीका नेता रामसाहले बताए । 

गिरीलाई कारबाही गर्न तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र तत्कालिन समाजवादी पार्टीका नेताहरूले पार्टी अध्यक्ष यादव लगायत पार्टीका शिर्ष नेताहरूलाई लगातार दबाब दिइरहेका छन् । उनलाई पार्टीको साधारण सदस्यताबाट समेत मुक्त गर्नुपर्ने पार्टीका अधिकांश कार्यकर्ताहरूको माग छ ।

गिरी संसदमा प्रस्तुत संविधान संशोधन विधयकको विपक्षमा उभिदै आएकी छन् । सरकारले कालपानी, लिपुलेक तथा लिम्पियाधुरा सहितको भुभागलाई समेटेर नयाँ नक्सा जारी गरे पछि सरकारको यस निर्णयमा गिरी असन्तुष्ट छिन् । लिपुलेक तथा लिम्पियाधुरा नेपालको भुभाग होइन भन्ने गिरीको अडान छ तर गिरी बाहेक जनता समाजवादी तथा तत्कालिन राजपा र समाजवादीका सबै नेता तथा कार्यकर्ताहरु संविधान संशोधन प्रस्तावको पक्षमा उभिएका छन् । 



लोकप्रिय समाचार
नयाँ