इस्लामावाद । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा छ हजार ३९७ जनामा कोरोनभाइरसको संक्रमण भएको पुष्टि गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले योसँगै पाकिस्तानमा कुल संक्रमितको सङ्ख्या एक लाख २५ हजार ९३३ पुगेको पनि शुक्रबार जानकारी दिएको छ ।
त्यसैगरी कोरोनाभाइरसका कारण देशभरी अहिलेसम्म दुई हजार ४६३ जनाको मृत्यु भएको छ । तीमध्ये १०७ जनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म ४० हजार २४७ जना निको भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।
पञ्जाब प्रान्तमा सवैभन्दा धेरै संक्रमित रहेको पाइएको छ । पञ्जाबमा अहिलेसम्म ४७ हजार ३८२ जना संक्रमित भएका छन् भने दोस्रो धेरै संक्रमितहरु रहेको सिन्ध प्रान्तमा ४६ हजार ८२८ जना संक्रमित भएका छन् ।
त्यसैगरी खैबर पाख्तुङख्वामा १५ हजार ७८७ जना, बालुचिस्तानमा सात हजार ६७३ जना, इश्लामावादमा छ हजार ६९९ जना, गिल्गिट बाल्टिस्तानमा एक हजार ३० जना र पाकिस्तान नियन्त्रित काश्मिरमा ५३४ जना संक्रमित रहेको अधिकारीहरुले जनाएका छन् ।
देशभरी कूल आठ लाख नौ हजार १६९ जनाको कोरोना परीक्षण गरिएको र तीमध्ये पछिल्लो २४ घण्टामा २८ हजार ३४४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।