काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले नेपालीको मजबुद भावनालाई विचलित हुन नदिन आग्रह गरेका छन् । पित्रृशोकमा रहेका डा चण्डारीले शनिबार प्रतिनिधिसभाको बैठकले नेपालको अद्यावधिक नक्सालाई पहिलो पटक संधिवानमा अंकित गर्ने भएसंगै सामाजिक संजालमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘राष्ट्रिय स्वाभिमानका निम्ति हामी सबै नेपाली एक ढिक्का भई परिवर्तित नक्सालाई संविधानमा अंकित गरेको यस ऐतिहासिक क्षणमा सम्पूर्ण शहीद जसले देशको स्वाभिमानका निम्ति आफ्नो जीवन उत्सर्ग गरे उहाँहरुलाई नमन गर्दै नेपाली हुनुमा गर्व गर्दछु ।’
उनले फेसबुकमा अगाडि लेखेका छन्, ‘हामीले राष्ट्रिय एकताको विश्व सामु अर्को नयाँ मानक खडा गरि दिएका छौं । सार्वभौम, अखण्ड राष्ट्रको सिमाना, मानसम्मानको सुरक्षा गर्न गोर्खाली सक्षम छन् ।’
भारतले मिचेको भूमि फिर्ता लिने सम्बन्धमा उनले लेखेका छन्, ‘सम्पूर्ण प्रमाण जुटाई कुटनैतिक तवरबाट रणनीति बनाएर हाम्रो मिचिएको भूभाग फिर्ता लिई हाम्रो सैन्यदस्ता त्यहाँ स्थापित गरि सूर्य तारा अंकित हाम्रो झण्डा फहराउनु पर्दछ।’
सबै नेपालीलाइए एउटै मालामा गाँस्नुपर्ने बारेमा उनले लेखेका छन्, ‘हिमाल पहाड तराई कोही छैन पराई हामी सबै भाइ भाइ। यो मजबुत भावनालाई अब विचलित हुन दिनु हुँदैन । नेपाल र नेपालीको जय। जय नेपाल ।’