arrow

केपी ओलीको जिल्लामा सरकारको विरोध, युवा भन्छन् – हिसाब चाहियो

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ जेठ ३२ आइतबार
10arba-hisab.jpg

झापा । कोरोना महामारी नियन्त्रणको क्रममा गरिएको भ्रष्टाचारको विरोध स्वरुप तथा पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने लगायतका माग गर्दै प्रधानमान्त्री केपी शर्म ओलीको गृहनगर दमकमा युवाहरुले प्रदर्शन गरेका छन् ।
 
स्वतस्फुर्त रुपमा निस्किएका युवाहरुले सरकारी कदम विरुद्ध प्लेकार्ड लिएर बिहान १० देखि ११ बजेसम्म एक घण्टा दमक चौकमा मौन रुपमा विरोध प्रदर्शन गरेका हुन् ।   

नागरिकलाई कोरोनाबाट जोगाउन सरकारले सही कार्य योजना ल्याउन नसकेको भन्दै विभिन्न प्लेकार्ड बोकेका युवाहरु दमकको मुख्य चौकस्थित पूर्व पश्चिम राजमार्गको दुवैतर्फ मौन रुपमा उभिएर प्रदर्शन गर्दै सांकेतिक रुपमा सरकारको गलत कदमको विरोध गरेका हुन् ।

लगातार दुई महिना भन्दा बढी बन्दाबन्दी गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै युवाहरु स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका थिए । 

स्वतस्फूर्त रुपमा राष्ट्रिय झण्डा बोकेर निस्किएका युवाहरुले कोरोना संक्रमण नियन्त्रणका निमित्त १० अर्ब रकम खर्च भैसकेको जानकारी सहितको प्रधानमन्त्रीको अभिब्यक्तिप्रति बिमति जनाउँदै उक्त खर्च रकमको पूर्ण विवरण सरकारले नागरिक समक्ष बुझाउनु पर्ने धारणा राख्दै सरकारको कमजोर नीति र प्रवृत्तिप्रति आक्रोश पोखेका थिए ।

क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा सरकार विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरिएको सहभागी युवाले बताएका छन् । 

त्यस्तै स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै खर्चको हिसाब पनि सरकारले सार्वजनिक गर्नु पर्ने विरोधमा उत्रिएका युवाहरुले बताए । त्यसैगरी सरकारले कोरोना भाइरस महामारीका बेला प्रभावकारी काम गर्न नसकेको भन्दै झापाको बिर्तामोडमा पनि युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । 

स्वतस्फूर्त निस्केका युवाहरुले विभिन्न प्लेकार्ड लिएर बिर्तामोडको मुक्तिचोकमा प्रदर्शन गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ