arrow

कोरोना संक्रमणबाट गुल्मीमा एकको मृत्यु, कोरोनाबाट ज्यान गुमाउने १९ पुगे 

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
coronavirus-hamrakuras1.jpg

गुल्मी । गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए ।

उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए । जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । 

त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा राखिएको थियो । उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए । उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् ।

नेपालभर भने १९ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार १८ जना पुगेको जनाएको थियो । 

यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन् । 

दुई जना कोरोना जितेर घर फर्केका छन् । कोरोना जित्नेमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल पनि हुन् । 

अझै विभिन्न क्वारेन्टिनमध्ये रेसुङ्गा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा एकएक सङ्क्रमित छन् । उनीहरुको सामान्यावस्था रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
नयाँ