काठमाडौं । अमेरिकामा अश्वेत नागरिक असुरक्षा बढ्दै गएको छ । एट्लान्टामा पुलिसको कार्वाहीमा परी २७ वर्षका रेशर्ड ब्रुक्सको मृत्यु भएको छ ।
प्रहरी अधिकृतले ब्रुक्सलाई गोली हानी मारेको बताइएको छ । एट्लान्टाको जर्जियामा गिरफ्तारीको दौरान प्रहरीले ब्रुक्समाथि गोली हानेको थियो । पछि उनको अस्पतालमा मृत्यु भएको हो ।
यो घटनापछि एटलान्टा प्रहरी प्रमुखले राजीनामा दिएका छन् । यो घटनालाई लिएर मानिसहरु सडकमा उत्रेका छन् । जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशनका अनुसार घटना शुक्रबार १२ जुनको हो ।
ब्रुक्स पार्किङमा कारमा सुतिरहेका थिए । उनलाई प्रहरीले नशा गरेको ठानेर सोधपुछ गर्न थाले । त्यसपछि उनको प्रहरीसंग झडप भएको थियो ।
ब्रुक्सले प्रहरी अधिकारीको टेजर अर्थात् छोटो बन्दूक लिएर भागेका थिए । अर्का अफिसरले उनलाई पछ्याउँदै जाँदा प्रहरी अधिकृतमाथि नै गोली हान्न खोज्दा अफिसरले गोली हानेको बताइएको छ ।
घटनापछि प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएका हुन् ।
यसअघि गत २५ मे मा अमेरिकाकै मिनेपोलिसमा ४० वर्षका अश्वेत नागरिक जर्ज फ्लोएडको प्रहरीले हत्या गरेको थियो ।
त्यसपछि विश्वभर उक्त घटनाको विरोध भइरहेको छ । अमेरिकाका मात्र १४० शहरमा विरोध प्रदर्शन भएको छ । यो प्रदर्शनले अमेरिकामा कोरोना भाइरसको असरलाई समेत पछि धकेलेको छ ।
मानिसहरु कोरोनाको डर भन्दा सरकारको डर भएको भन्दै सडकमा उत्रेका थिए । जसका कारण ४० शहरमा कर्फ्यु नै लगाउनु पर्यो ।