सुरुङ्गा। प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला झापा बनेको छ। भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको पनि कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमित धेरै फेला परेका छन् । रोजगारीका लागि भारत पुगेका नेपाली युवा स्थलमार्ग भएर घर फर्कन थालेसँगै कचनकवल गाउँपालिकामा धेरै सङ्क्रमित फेला परेका हुन् । यो गाउँपालिकामा मात्र हालसम्म १२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
जिल्लामा सङ्क्रमित हुनेको सङ्ख्या १७४ रहेको छ । पन्ध्र वटा स्थानीय तह रहेको झापामा १४ वटा स्थानीय तहमा दुई महिलासहित सङ्क्रमितको सङ्ख्या १७४ पुगेको हो। उमेर समूहका आधारमा हेर्ने हो भने १५ देखि ६७ वर्षसम्मका मानिसमा यो रोगको सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार सङ्क्रमितमध्ये ९५ जना उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किएका छन्।
प्रदेश नं १ मा झापापछि कोरोना सङ्क्रमितको सङ्ख्या सुनसरीमा बढी छ । सुनसरीमा ५६ जना कोरोना सङ्क्रमितका फेला परेका छन् । प्रदेश नं १ मा हालसम्म ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सय ६६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । तर पनि भारतबाट नेपाल फर्कने युवाको सङ्ख्या झन बढेकाले झापासहित पूर्वका जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेका प्रमुख स्वकीय सचिव तिलक बस्नेतका अनुसार प्रदेश नं १ मा कोरोना परीक्षणका लागि तीनवटा मात्रै ल्याब छन् । कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य ल्याब विराटनगर र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको ल्याबमा पूर्वका १४ जिल्लामा सङ्कलित स्वाबको परीक्षण हुने गरेको छ । हालसम्म १५ हजार ४१६ जनाको स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पठाइए पनि १५ हजार २४७ जनाको मात्र रिपोर्ट आएको छ ।
कुन जिल्लामा कति सङ्क्रमित
प्रदेश नं १ का ११ जिल्लामा कोरोना सङ्क्रमण देखिएको र त्यसमा सबैभन्दा बढी झापा र त्यसपछि सुनसरी, उदयपुर र मोरङमा छन् । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार झापामा १७४, सुनसरीमा ५६, उदयपुरमा ४३, मोरङमा ४६, धनकुटामा आठ, भोजपुरमा ६, खोटाङमा चार, सङ्खुवासभा, तेह्रथुम र इलाममा दुई÷दुई तथा सोलुखुम्बुमा एकजना कोरोना सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये २१ जना महिला छन् । दश महिला उपचारपछि घर फर्किए भने अझै ११ जना महिला उपचाररत् छन् ।
त्यस्तै ६८३ जना अहिले पनि प्रदेश नं १ मा कोरोनाको उपचारका लागि तयार गरिएको आइसोलेशनमा रहेका छन् भने कोरोना पोजेटिभ देखिएर उपचारमा रहेकाको सङ्ख्या १७६ जना रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश नं १ मा चार हजार ३८५ जना अहिले पनि क्वारेन्टिनमा रहेका छन् भने होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या १४ हजार ८८० जना रहेको छ ।
झापामा प्रयोगशाला स्थापनाको पहल
प्रदेश नं १ मा सबैभन्दा धेरै कोरोना सङ्क्रमित झापामा देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न पहल शुरु भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार प्रदेश सरकारसँग समन्वय गर्दै ल्याब स्थापना गर्न लागिएको हो । मेची अञ्चल अस्पतालमा राख्नेगरी स्थान चयन गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्याब स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिनुभएको जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताउनुभयो । अब एक साताभित्र झापामा ल्याब स्थापना हुने उहाँले बताउनुभयो ।
झापामा पहिलोपटक गत वैशाख ११ गते दमक नगरपालिका–३ का ४६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता जिल्लामा सङ्क्रमितको सङ्ख्या प्रदेशमै धेरै भएपछि झापामा नै कोरोना परीक्षणका लागि ल्याब स्थापनाको तयारी थालिएको हो ।
जनस्तरबाट प्रयोगशाला स्थापनाको प्रयास
झापामा कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दासमेत सरकारी तवरबाट ल्याब स्थापनामा तदारुकता नदेखिएको भन्दै जिल्लामा जनस्तरबाट पनि कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ ।
झापा बिर्तामोड–२ चारपानेका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपन्नलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’ मार्फत रु ६० लाख सङ्कलन भएपछि जनस्तरबाट ल्याब राख्ने तयारी थालिएको हो । अभियान शुरु गरेको महिना दिनसम्म विपन्नलाई खाद्यान्न वितरण गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अभियानले कोरोना परीक्षण प्रयोगशालाको अवधारण अघि सारेको हो । रु एक करोड २५ लाख खर्च गर्दा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सकिने भन्दै अभियन्ता गिरीले भन्नुभया,– “कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अहिले जिल्लामा रहेका २० भन्दा बढी सामाजिक सङ्घसंस्था र देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् ।”
कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले समेत सहयोग गर्ने जनाएको छ । झापाका १५ वटा स्थानीय तहमा कोरोना परीक्षणका लागि प्रयोग हुने एक÷एक सय भिटिएम किट उपलब्ध गराएको समाजले कोरोना परीक्षण ल्याब स्थापनाका लागि रु ३० लाख सहयोग गर्ने तयारी थालेको समाजका उपाध्यक्ष नवीन पोखरेलले बताउनुभयो । झापामा कोरोना सङ्क्रमित अझै बढ्दै जाने अवस्था रहेको उहाँले बताउनुभयो । पोखरेलले भन्नुभयो, “झापामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्न सके र यहाँ सङ्कलन गरिएको स्वाब विराटनगर र धरान पु¥याउनु पर्ने थिएन ।”
अहिले तीनवटा ल्याबमा प्रदेश नं १ का १४ जिल्लाबाट सङ्कलित स्वाब परीक्षण हुन्छ । समयमै स्वाबको रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकाहरु भगवान पुकार्न बाध्य छन् । प्रदेशमा स्थापना गरिएको ल्याबमा अहिले दैनिक एक हजारदेखि एक हजार २०० जनाको मात्र रिपोर्ट आउने गरेको छ ।
सङ्क्रमितलाई समाजमा अपहेलना
सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा कोरोनाको उपचारपछि घर फर्किनुभएका बिर्तामोड–२ सोमबारेका दिलीप दर्जीलाई गाउँलेले शुक्रबार घर जान दिएनन् । दर्जी उपचारपछि सोमबारेस्थित साइँली भाउजूको घरमा जाँदै गर्दा भाउजूको घरमा पस्न गाउँलेले रोक लगाएका थिए । अस्पतालबाट डिस्चार्जपछि घर फर्कनुपूर्व दर्जीले भाउजूलाई आफू घर आउने कुरा जानकारी गराउनुभएको थियो । भाउजूले पनि उहाँलाई घरमा आउनु भन्नुभयो । भाउजूको अनुमति पाए पनि दिलीपले घर भने जान पाउनुभएन । अस्पतालबाट डिस्चार्जपछि घर आउँदै गर्दा दिलीपलाई भाउजूले फेरि फोन गरेर घर नआउन भनेपछि दिलीप गत शुक्रबार बाटैमा अलपत्र पर्नुभयो । गाउँलेले भाउजूलाई कोरोनाको बिरामी घर नभित्र्याउन भन्दै धम्की दिएपछि दिलीप पाँच घण्टासम्म चारपानेस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा बस्नुभयो ।
शुक्रबार राति बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलासहितका जनप्रतिनिधिले थाहा पाएर प्रहरीसहित दिलीपलाई घर पु¥याउनुभएको थियो । शुक्रबार रति १० बजे मात्रै घर पुग्नुभएका दिलीप र उहाँकी भाउजूको परिवारलाई अहिले पनि गाउँमा हिँडडुल गर्न रोक लगाएको बताइन्छ । दिलीपलाई राति वडाध्यक्षसहित प्रहरीले घर पु¥याए पनि गाउँलेले केही समय विरोध जनाएका थिए । कोरोना उपचारपछि निको हुने रोग भएको भन्दै वडाध्यक्ष सङ्ग्रौलासहितका जनप्रतिनिधिले गाउँलेलाई सम्झाए पनि दर्जीको परिवार अहिले पनि समाजमा उपेक्षित भई बसेका छन् । गत जेठ १३ गते भारतबाट घर फर्किएका दर्जीलाई २० गते कोरोना सङ्क्रमण देखिएपछि उपचारका लागि धरान लगिएको थियो ।
बिर्तामोड–२ का दर्जी समाजका एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँको जस्तै पीडा छ बाह्रदशी गाउँपालिका–४ का सङ्क्रमित मजाहिर आलमको पनि । उहाँलाई पनि कोरोना सङ्क्रमण देखिएपछि विराटगरमा लगेर उपचार गरिएको थियो । उपचारपछि घर फर्किए पनि आलमको घरमा अहिलेसम्म छरछिमेक र साथीभाइ नआउने गरेको उहाँ दुखेसो गर्नुहुन्छ ।
सङ्क्रमित भन्छन्–आत्तिनु पर्दैन
कोरोना सङ्क्रमण देखिएर उपचारपछि घर फर्किएकाहरुले कोरोनाको सङ्क्रमण हुनेबित्तिकै आत्तिनु नपर्ने बताएका छन् । उनीहरुले बेलैमा सजकता अपनाउँदै उपचार गरेको खण्डमा कोरोनालाई पराजित गर्न सहजै सकिने बताएका छन्।
बाह्रदशी गाउँपालिका–४ चकचकीका मजाहिर आलमले आफूलाई कोरोना सङ्क्रमण पुष्टि हुँदा समेत कुनै लक्षण नदेखिएको र १४ दिनसम्म आइसोलेशनमा बस्दा पनि आफूलाई कुनै प्रकारको समस्या नआएको बताउनुभयो । आफूसँग अस्पतालमा बसेका साथीहरुमा समेत त्यस्तो कुनै समस्या नदेखिएको भन्दै कोरोना लाग्नेबित्तिकै आत्तिन नहुने उहाँले बताउनुभयो । उहाँले पोषणयुक्त खानेकुरा खान र स्वास्थ्यको राम्रो हेरचाह गर्नसमेत सल्लाह दिनुभयो । विदेशमा जस्तो नेपालमा भयावह स्थिति नरहेको उहाँले बताउनुभयो । आलमले भन्नुभयो, “मनोबल उच्च राख्ने, खानपिनमा ध्यानदिने र आफ्नो स्वास्थ्यको ख्याल आफैँले राम्रोसँग गरेमा कोरोनालाई हामीले सहजै परास्त गर्न सक्छौँ ।” सामाजिक दूरी कायम गर्दै हिँडडुल गर्न र सतर्कता अपनाउन भने उहाँको सुझाव छ।