काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारलाई कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीको नेतृत्वमा सिंहदरबार पुगेको टोलीले आइतबार गृहमन्त्री रामबहादुर थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
महासंघले गृह मन्त्रालयलाई पिपिई सुट ५०, थर्मल गन ५०, चस्मा ५०, सुज कभर ५०, एएस ९५ माक्स एक हजार, सर्जिकल माक्स, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो । हस्तान्तरणपछि गृहमन्त्री थापाले व्यवसायीहरुका समस्याहरु समाधानका लागि सहजीकरण गर्ने बताए ।
व्यवसायीको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउने आश्वासन दिँदै उनले व्यवसायीका समस्यामा समेत सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
महासंघका उपाध्यक्ष कार्कीले चीनबाट आएको ठूलो परिमाणको सामग्री केरुङ नाकामा अड्किएको भन्दै ध्यानाकर्षण गराएका थिए । उनले केरुङ जानका लागि व्यापारीलाई पाससमेत उपलब्ध हुन नसकेको गुनासो गरे ।