arrow

बढ्दै संक्रमित र मृतकको संख्या, आवतजावत बढेपछि मन्त्रालयको यस्तो अपिल

थप ४२५ जनामा कोरोना संक्रमण, एकको मुत्यु

logo
प्रकाशित २०७७ जेठ ३२ आइतबार
corona-brefing-mohp.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित भएकामा ३७५ पुरुष र ५० महिला रहेका छन् । योसँगै हालसम्म कूल संक्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको छ । यीमध्ये पुरुष पाँच ३२४ र महिला ४३६ छन् । आइतबार संक्रमित भेटिएको जिल्लामा रुकुम पूर्व थप भई ७३ जिल्ला पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । आइतबार मात्रै ६ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जना कोभिडका संक्रमित डिस्चार्ज भएका छन् । तीमध्ये छ महिला र ५५ पुरुष छन् । हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् । त्यसमा ८७७ पुरुष र ९७ महिला रहेका छन् ।

थप एकको मुत्यु
कोभिड–१९ संक्रमणले थप एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गुल्मी धुर्कोक गाउँपालिका–४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । जेठ १२ गते रुपन्देहीमा कोभिड पुष्टि भएको थियो । आइसोलेशनमा उपचाररत उनमा क्यान्सर रोगको समस्या थियो । उनी भारतबाट आएका थिए । हालसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६८९ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख ३३ हजार ३७७ पुगेको छ । आरडिटी परीक्षणको सङ्ख्या दुई लाख १० हजार ७२१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार १३९ जनाको आरडिटी परीक्षण गरिएको छ ।

त्यसैगरी आइतबारसम्म मुलुकभर एक लाख ४३ हजार ६४१ छ । आइसोलेशनमा संक्रमितको सङ्ख्या चार हजार ७६७ रहेको छ । यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आइतबार थप दुई गरी ४९८ पुगेको छ ।

मन्त्रालयको अपिल
अहिले बन्दाबन्दी खुल्ला भएसँगै मानिसको आवतजावत बढिरहेको र एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले कोभिडको परीक्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा, यात्रा गर्दा संक्रमण जोखिम हुन्छ नै तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमका कोही कसैको परीक्षण नगर्न÷नगराउन सम्बन्धित स्वास्थ्यकर्मी स्वास्थ्य संस्था र प्रयोगशालामा अनुरोध छ’’, मन्त्रालयका प्रवक्ता डा गौतमले भने ।

मन्त्रालयले ‘सम्बन्धित स्थानीय निकाय, घरबेटीलाई कोभिडको परीक्षण गर्ने सरकारको मापदण्ड छ’ जसलाई जहिले पनि परीक्षण गर्दा स्रोतसाधनको दुरुपयोग हुने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नजान पनि अपिल गरेको छ । जानै परेमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । यस्तै बाहिरबाट आउने व्यक्तिले आफँै होम क्वारेन्टिनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएका पिसिआर परीक्षणका नमूना आगामी दिनमा आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने व्यवस्था गरिएको जनाएको छ । यसका लागि लाग्ने शुल्क स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ । विदेश जानुपर्ने प्रवेषाज्ञा वा निरोगिताका लागि सङ्कलन गर्नुपर्ने नमूना वीर अस्पताल र पाटन अस्पतालमा गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ