रुपन्देही। दाङको पश्चिम क्षेत्र अमेलियास्थित राप्ती नदीमा केही दिन यता नदीजन्य पदार्थ उत्खनन् भइरहेको पाईएको छ। उत्खननमा अरु कोही नभएर प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल निकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता विवेक श्रेष्ठ संलग्न रहेको पाइएको हो।
पछिल्लो समय कोरोना कहरमा गरिएको लकडाउनको समयमा स्थानिय पालिकाले लगाएको ठेक्का पारेका श्रेष्ठले लमही नगर कार्यपालिकाले गरेको निर्णय विपरित स्थानिय राप्ती नदीमा नदिजन्य पदार्थ स्काभेटर र जेसिवी लगाएर खोला दोहन गर्दा समेत सम्वन्धित निकायको ध्यान पुग्न सकेको छैन् ।
जिल्ला समन्वय समिति दाङले स्थानिय खोलाहरुमा ठेक्का लगाउने अधिकार जिससबाट पालिकाहरुमा गएको उल्लेख गर्दै सो क्षेत्रमा भैरहेको उत्खनन् वारे अनौपचारिक रुपमा जानकारी आएको वताएको छ । तर खोलामा मेसिनहरु प्रयोग गर्न नपाईने प्रावधान रहेको जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले जनाएका छन् ।
हाम्राकुरा डटकमसंगको कुराकानीमा नेपालीले खोलामा जथाभावी रुपमा मेसिनहरु लगाईएको छ भने सम्वन्धित स्थानिय पालिकाले त्यसमा संलग्नहरुलाई तत्काल कारवाही गर्नुपर्ने जिकिर गरे। जिल्लामा स्थानिय पालिकाहरुले लगाएका अधिकांश खोलाहरुमा आईई र ईआई गरिएको स्थानबाट नभई आफुखुसी अन्य स्थानबाट नदीजन्य पदार्थ उत्खनन् कार्य गरेको अनुगमनका क्रममा पाईएको वताएका छन् । जसको प्रतिवेदन आफुहरुले प्रदेश सरकारलाई पेश गर्ने वताए ।
यता लमही नगरपालिकाका नगर प्रमुख कुल वहादुर केसीले नगरभित्र केही खोलाहरुमा ठेक्का खुलाईएको तर स्काभेटर र जेसिवी लगाएर नदीजन्य पदार्थ निकासी गर्न नपाईने नगरकार्यपालिका स्तरिय वैठकमा निर्णय भएको बताए ।
नगप्रमुख केसीले भने, खोलामा मेसिन नलगाईएको दावी गर्दै कहीकतै लगाईएको पाईएमा कानुन सम्मत् कारवाही हुने स्पष्ट पारे ।
तर खोला उत्खनन् कार्यमा संलग्न विवेक श्रेष्ठ विगतदेखि नै राजनितिक आडमा वर्चस्व कायम राख्दै आएको स्थानियहरुले जानकारी दिएका छन् ।
विभिन्न समयमा स्थानिय ग्रामिणहरु र प्रहरी अधिकारीलाई समेत हातपात गर्दै आएका नेकपा कार्यकर्ता श्रेष्ठले केही समय अगाडि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उत्पन्न विषयलाई लिएर प्रहरी माथि हातपात गरेपछि दाङ प्रहरीले उनलाई हिरासतमा लिएको थियो ।
प्रहरीले खोजी गरेको थाहा पाए लगत्तै सम्पर्कविहिन भएका उनलाई प्रहरीको विशेष अनुसन्धान टोलीले वर्दियामा लुकिछिपी वसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । केही समय दाङ प्रहरीको हिरासतमा रहेका उनी राजनितिक प्रभावकै कारण छुटेका थिए ।
खोलामा रहेको जय वागेश्वरी वालुवा प्रशोधन केन्द्रमा जम्मा गर्दे आएको पाईएको छ । नजिकै रहेको केन्द्रमा जम्मा गर्दै आएको र नयाँ कुनै व्यक्तिहरु गएमा खोलामा लगाईएको मेसिनहरु हटाउने गरेको पाईएको छ। स्थानियहरुले सो वालुवा प्रशोधन केन्द्रसँगको मिलेमतोमा उक्त कार्य भैरहेको जनाएका छन् । स्थानिय पालिकाले अनुगमन चुस्त नवनाउनु र रातीको समयमा पनि उत्खनन् हुने गरेको जनाउँदै स्थानियरुले प्रहरी प्रशासनको पनि मिलेमतो हुनसक्ने आंशका गरेका छन् ।