सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले झुठो आरोप लगाएर नेपाली कांग्रेसका तीन नेतालाई धरपकड गर्न लगाएका छन् ।
गाउँपालिकाको विकास निर्माण एवं उपभोक्ता समिति गठनका सम्बन्धमा बस्नेतसंग समय लिएर लिखुपिके गाउँ कार्यसमितिका सभापति सुवर्णबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीलाई छलफलमा उठेका प्रश्नको जवाफ नदिइ गाउँपालिका अध्यक्ष बस्नेतले आफूमाथि हातपात भयो भनी झुठा आरोप लगाई प्रहरी प्रशासनसंगको मिलेमतोमा नक्कली उजुरी गरी प्रहरीले तीन जनालाई धरपकड गरेको सोलुखुम्बु कांग्रेस जिल्ला कार्यसमितिले बताएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले ‘गाउँपालिका सबैको साझा थलो हो र अध्यक्ष पनि सबैका साझा प्रतिनिधि हुन् तर अध्यक्षद्धारा पहिल्यै कुराकानी गर्ने तय भएको विषयमा आफैले छलफल गर्न बोलाई कार्यकक्षमा जाँदा झुठा मुद्दा लगाइ धरपकड गर्न लगाउनु घोर अप्रजातान्त्रिक एवं अधिनायकवादी चरित्र हो ।’ भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी प्रशासनले एक पक्षिय कुरा सुनी सोलु दुधकुण्ड नगरपालिका कार्यपालिकाको बैठकमा उपप्रमुखद्धारा नेपाली कांग्रेस पार्टीबाट निर्वाचि नगरसदस्य एवम् नगर प्रवक्तामाथि हातपात गरी उल्टै प्रहरी प्रशासनको मिलेमतोमा निजमाथि झुठा प्रमाण संकलन गरी मुद्दा दर्ता गरेको घटना सेलाउन नपाउँदै नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि श्रृंखलावद्ध रुपमा जिल्लाव्यापी दमनमा उत्रिएको प्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बु घोर भत्र्सना र विरोध गर्दछ ।’
कांग्रेसले गिरफ्तार गरिएका नेताहरुलाई बिना सर्त तत्काल रिहा गर्न प्रहरी प्रशासनसंग जोगदार माग गरेको छ ।
आइतबारै लिखुपिके गाउँपालिका उपाध्यक्षको नेतृत्वमा कांग्रेसका तर्फबाट उपाध्यक्षकी उम्मेदवार मिना कार्की बस्नेत र लिखुपिके वडा ४ का पार्टी सभापति दुर्गाबहादुर बस्नेतमाथि कुटपिट भएको र यसको उजुरी प्रहरी समक्ष पुग्दासमेत प्रहरी मुकदर्शक बसिरहेकोले तत्काल दोषीलाई गिरफ्तार गर्नसमेत कांग्रेसले माग गरेको छ ।
कांग्रेसले सत्ताको आडमा प्रहरी प्रशासन एकाङ्की रुपमा आफ्ना कार्यकर्तामाथि दमनमा उत्रिएर यही रुपमा अगाडि बढे चुप लागेर नबस्ने समेत जनाएको छ ।