काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट भएको र कार्य क्षमतामा असक्षम भएको आरोप लगाउँदै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ सडकमा उत्रेको छ ।
सरकार नेपाली जनताको जीवन रक्षामा कत्ति पनि गम्भीर नभएको, १० अर्बको हिसाब नदेखाएको, सरकारका मन्त्रीहरु भ्रष्टाचारमा निर्लिप्त भएको, अरबौं खर्च भैसक्दा पनि क्वारेन्टिनहरु यातना गृहजस्तो भएको भन्दै नेविसंघ आन्दोलित भएको हो ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सोमबार दिउँसो सरकार विरुद्धको आन्दोलनमा काठमाडौंको बिजुलीबजारमा १ बजे सहभागी हुन आग्रह गरेका छन् ।
त्यस्तै नेविसंघले कांग्रेसले ७७ वटै जिल्लामा गर्ने विरोध कार्यक्रममा सक्रिय सहभागीता जनाउन कार्यकर्तालाई परिपत्र जारी गरेको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जारी गरेको परिपत्रमा असार २ गते कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गरेको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा व्यापक सहभागीता जनाउन निर्देशन दिइएको हो ।
नेविसंघले सबै कार्यक्रममा सामाजिक दूरी कायम गरी स्वास्थ्य सम्बन्धी सम्पूर्ण सजगता अपनाउँदै कार्यक्रमहरु सम्पन्न गर्न समेत सुचित गरेको छ ।