गुल्मी । गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या २७ पुगेको छ । सोमबार मात्रै एकै दिन जिल्लाको मुसिकोट नगरपालिकाका १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनका अनुसार मुसिकोट नगरपालिकाका २०, ३०, २९, १८, १७, २४ र २१ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै २६ र २८ वर्षकी महिला र ५ वर्षकी बालिका रहेकोे स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यसअघि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका वडा नं ५ का २८ र ३५ वर्षका पूरुषहरु, रेसुंगा नगरपालिकाका २८, २६ र ३२ वर्षका पुरुष, छत्रकोट गाउँपालिकाका ३८ वर्षका पुरुष, धुर्कोट गाउँपालिकाकी २० बर्षकी महिला, सत्यवती गाउँपालिकाका ४ जना २१, २७,२९ र ३४ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै धुर्कोट गाउँपालिकाका २ जना ३६ र ३७ वर्षका, मदाने गाउँपालिकाका २ जना ४१ र ३२ वर्षका, चन्द्रकोट गाउँपालिकाका १ जना ७१ वर्षका र रुरुक्षेत्र गाउँपालिकाका १ जना ३६ बर्षका पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्लामा अहिलेसम्म दुई जना निको भएर घर फर्केका छन् । कोरोनाका कारण जिल्लामा दुई जनाले ज्यान गुमाएका छन् । मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकाका १–१ जनाको ज्यान गएको हो ।
मदानेका विद्यालयका शिक्षकको ज्यान गएको हो । उनमा कोरोना कसरी सर्यो भन्ने नै यकिन हुन सकेको छैन । उनको उपचारका क्रममा बुटबलको क्रिम्सन अस्पतालमा मृत्यु भएको हो ।
अर्का एक जना भने पायल्स र क्यान्सर पीडित हुन् । उनी भारतबाट फर्केका थिए ।
गुल्मीमा भारतबाट आउनेहरुमा बढी कोरोना देखिएको छ । स्थानीय क्वारेन्टिन व्यवस्थित नहुँदा स्थिति अझ भयावह भएको बताइन्छ ।
पीसीआरको यथेष्ट परीक्षणसमेत हुन नसकेका कारणले गर्दा पनि जोखिम झनै बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।