झापा । नेपालको पुर्वी सिमाना झापा जिल्लाको भारतीय सिमातर्फबाट जबर्जस्ती सामान लिएर नेपाल प्रवेश गर्न खोज्दा नेपाली सुरक्षाकर्मी र अवैध रुपमा सामान ल्याउनेहरुबीच बारम्वार झडप हुन थालेको छ।
नेपाली सुरक्षाकर्मीले प्रतिकार गर्दा झापा गाउँपालिका १ लसुनामा सोमबार बेलुका तस्करहरुले नेपालको सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई फेरि आक्रमण गरेका छन् ।
तस्करहरुले जबरजस्ती हार्डवेयरका सामग्री लिएर नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोक्न खोजेपछि सुरक्षाकर्मीमाथि आक्रमण भएको बताइएको छ । तस्करहरुको समूहले आक्रमण गरी सुरक्षाकर्मीलाई घिसार्न थालेपछि सशस्त्र प्रहरीले गुहार मागेका थिए ।
२०-२५ जनाको संख्यामा आएका तस्करहरुले शसस्त्रका एकजना जवानलाई घिसार्दै भारततर्फ लगेका थिए ।सुरक्षाकर्मीलाई तस्करको समूहले घिसार्दै भारतीय भूमितर्फ लगेपछि सुरक्षाकर्मीलाई स्थानीयहरुले सहयोग गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए।
तस्करहरुले सामान लिएर जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि उक्त स्थानमा केही समय तनाब भएको भएपनि आज मंगलबार भने स्थिति सामान्य रहेको अध्यक्ष साहले जानकारी दिएका छ्न ।