काठमाडौं। लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धीत उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधा दिने बताएको छ। यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको एक सय प्रतिशत सम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा उपलब्ध गराउने जनाएको हो।
कोभिड–१९ को कारण हिंडडुलमा प्रतिबन्ध लगाइएको अवस्थामा शैक्षिक संस्था तथा कार्यालयहरु बन्द रहेको बेला अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी प्रयोजनको लागि घरबाटै काम गर्न सहज होस भनेर यो सुबिधा ल्याएको बिज्ञप्तिमा बताइएको छ।
यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध हुने जनाइएको छ। ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्ने बैङ्कले जनाएको छ।