काठमाडौं। दाङका विवेक श्रेष्ठले मुख्यमन्त्री पोख्रेलको संरक्षण पाएपछि मौलायो बिबेकको अबैध उत्खनन् धन्दा” शिर्षकको समाचारप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन पठाएका छन्। उनले पठाएको पत्रः
श्रीमान सम्पादक ज्यू,
हाम्राकुरा डटकम, काठमाण्डौ
विषयः प्रतिकृया छापिदिने सम्बन्धमा ।
मिति २०७७ असार १ गते हाम्राकुरा डटकममा “मुख्यमन्त्री पोख्रेलको संरक्षण पाएपछि मौलायो बिबेकको अबैध उत्खनन् धन्दा” शिर्षकको समाचारप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा दाङको अमेलिया क्षेत्रमा राप्ती नदिमा नदिजन्य पदार्थ अबैध रुपमा उत्खनन भैरहेको घटनामा मलाई प्रत्यक्ष रुपमा जोडेर मेरो चरित्र हत्या गरिएको छ । उक्त स्थानमा मेरो कुनै ठेक्का नभएको, त्यहाँ मेरो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कुनै पनि सम्लग्नता नभएको जानकारी गराउँदछु ।
घटनासँग असम्बन्धीत व्यक्तिलाई समाचारमा जोडन नहुने पत्रकार आचारसंहिता बिपरित मलाई उत्खखनकर्ता र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई संरक्षणकर्ता भनी नदिजन्य सामग्री उत्खखनमा सम्लग्न भएको आरोप लगाइएको छ । जुन समाचारमा कुनै पनि सत्यता छैन । त्यस क्षेत्रमा मेरो कुनै पनि कारोबार नभएको समेत प्रष्ट पार्दछु । म कसैको पनि संरक्षणमा कुनै पनि अबैध कार्यमा संलग्न नभएको व्यक्ती हुँ, त्यस्मा पनि यस्ता अबैध कार्यमा मुख्यमन्त्रीको समेत नाम जोडेर समाचार प्रकाशन हुँदा चरित्र हत्या गर्न खोजिएको प्रष्ट हुन्छ । व्यक्तिगत प्रतिसोधका आधारमा लेखिने समाचारले समाजलाई भ्रमित पारेर अमुक व्यक्तीको स्वार्थपूर्ती हुने प्रस्ट छ ।
म सामाजिक कार्यमा समेत सम्लग्न रहेको एक राजनीतिकर्मी हुँ । म माथि दुरासय राखेर कसैले आरोप लगाउदैमा समाचार छाप्ने कार्यमा मेरी असहमति छ। सम्वन्धीत सञ्चार माध्यमलाई सत्य तथ्य समाचार प्रकाशन गर्न पनि आग्रह गर्दछु ।
विवेक श्रेष्ठ
दाङ ।