हिरासतमा मृत्यु भएका सदा र खान नपाएर मृत्यु भएका यादवका परिवारलाई जनही पाँच लाख दिइने
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार ३ बुधबार
125
Shares
जनकपुरधाम। प्रदेश नम्बर दुईको सरकारले शम्भु सदा र विरेन्द्र यादवको परिवारलाई राहत स्वरुप पाँच-पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बुधबार मन्त्रीपरिषदको बैठकले प्रहरी हिरासतमा मृत्यु भएको शम्भु सदा र भारतबाट आउदै गर्दा धनुषाको जटही नाका मृत्यु भएको बिरेन्द्र यादवको परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
सदालाई ट्याक्टर दुर्घटनाका कारण जेठ १२ गते इलाका प्रहरी कार्यालय सवैलामा प्रहरीले पक्राउ गरी हिरासतमा राखिएको थियो । शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए ।
लामो समयदेखि लकडाउनका कारण भारतमा फँसेका सहिद नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय विरेन्द्र मरवैता यादवलाई भोकले लकडाउनमा भारतबाट ६ दिन खाना नखाइ भोकै पेट जेष्ठ १४ गते बुधबार धनुषाको जटही नाकामा मृत्यु भएको थियो ।
भारतबाट हिँडदै आएका उनी विगत ६ दिनदेखि खाना खान पाएका थिएनन् । अत्यधिक भोकका कारण जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएको तर केही बेरमा उल्टी गरेर उनको मृत्यु भएको थियो।