नेपालगन्ज। बाँकेमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आइसियुमा उपचारका क्रममा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको थियो ।
सोमबार मृत्यु हुनु अघि स्वाब लिइएको ती महिलाको हिजो साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
अस्पतालका अनुसार निमोनियाले पीडित ती महिलाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो । मृतक महिलाको शव अस्पतालमै राखिएको छ।
शवको आज अन्तिम संस्कार गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।
यसअघि गत जेठ ४ मा नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।