दार्चुला। बुधवार सेनाको हेलीकप्टरबाट दार्चुला पुगेका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले दार्चुलाको खलंगामा गण र उत्तरी क्षेत्र छांगरुमा गुल्म राखिने बताएका छन् ।
गत बैशाख ३१ गते व्याँसको छांगरु गागामा स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न दार्चुला आएका आइजीपी खनाले दार्चुलामा निर्माण भएको सशस्त्र प्रहरी भवनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
बीओपीको अनुगमन निरीक्षण गरी दार्चुलाको खलंगा फर्केका महानिरीक्षक खनालले छाङ्गरुका स्थानियले बिओपी स्थापनापछि सुरक्षित महशुस गरेको प्रतिक्रिया दिएका छन् ।
साथै सशस्त्र प्रहरी महानिरीक्षक खनालले छाङ्गरुमा बाह्रै महिना सशस्त्र प्रहरी राख्न भौतिक संरचना निर्माणको प्रक्रिया सुरु भएको बताए । निकट भविष्यमै दार्चुलाको खलंगामा सशस्त्र प्रहरीको गण र ब्याँसको छाङ्गरुमा गुल्म स्थापना गरी भारत संग सिमा जोडिएका सबै जसो सिमानाकाहरुमा बिओपी राख्ने सशस्त्र प्रहरीको कार्ययोजना रहेको उनले सुनाए ।
भवनको उद्घाटन गर्दै आइजीपी खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशिल रहेको बताए । उनले भने, “सीमित स्रोत साधनका बिचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।” उनले भने – दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण बनाइने छ भने व्याँसको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुनेछ ।
उनले अहिले देशभरी सशस्त्रको बोर्डर आउट पोष्ट स्थापना भइरहेकोले दार्चुला जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै हुने बताए ।
छाङ्रुबाट फर्किएपछि सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवन उद्घाटन गरेका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापासँगै बुधबार छाङ्रुमा निरीक्षणका लागि पुगेका आईजीपी खनालले त्यहाँबाट फर्केपछि भवनको उद्घाटन गरेका हुन् । व्याँस गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपी स्थापना भएको थियो ।
२०७३ सालमा २ करोड ३० लाख २ हजार ३ सय ८४ रुपैँयाको लागतमा दुईतले भवन बनेको थियो । अर्को वर्ष ५७ लाख ७३ हजारमा अर्को तला थपेर तीन तले भवन तयार भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले बताए । दार्चुलाको खलंगामा २०७० माघदेखि सशस्त्र प्रहरी बस्न थालेको हो ।