सुर्नया, बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा महिलाहरुमा महिनावारीसँग जोडिएका समस्या अत्यधिक देखिएको पाइएको छ । सुर्नया गाउँपालिकाको सहयोगमा हेल्थ टुडे मिडियाले सञ्चालन गरेका तालिमका क्रममा सहभागीहरुमाझ गरिएको सर्वेक्षणले यो अवस्था देखाएको हो ।
यौन, प्रजनन स्वास्थ्य, लैंगिक सवाल, महिनावारी तथा सेनेटरी प्याड निर्माणसम्बन्धी सबै वडामा सञ्चालन भएको तालिमका क्रममा अधिकांश सहभागीले ग्रामीण क्षेत्रमा महिलाहरुले भोग्नु परेका स्वास्थ्य समस्याबारे खुलेर बताएका थिए ।
तालिमको क्रममा सहभागीहरुले आफ्नो गाउँटोलमा महिनावारीमा हुने दुखाईको समस्या सबैभन्दा धेरै रहेको बताएको दिए । महिलाहरुमा तल्लो पेट दुख्ने समस्या धेरैमा देखिएको हो । यसैगरी गाउँपालिकाका सबैजसो वडामा महिलाहरुमा हात खुटटा तथा जोर्नी दुख्ने समस्या समेत रहेको पाईएको छ ।
तालिम सहभागि महिलाहरुलाई सबैभन्दा जटिल ५ वटा स्वास्थ्य समस्या के के हुन भन्ने प्रश्न गरिएको थियो । अधिकांश सहभागीहरुले महिनावारीसम्बन्धी समस्या र जोर्नी दुख्ने, बाउँडिने समस्या रहेको बताएका थिए । यसबाहेक पाठेघर खस्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्या समेत देखिने उनीहरुले बताए ।
किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी अभिवृद्धि गर्ने तथा उनीहरुलाई प्रशिक्षकका रुपमा विकास गर्न आयोजना गरिएको चार दिने तालिम गाउँपालिकाका सबै वडाका किशोरी समेटेर सञ्चालन गरिएको जनाइएको छ । तालिममा वडाका स्वास्थ्य स्वयंसेविकाहरु समेत सहभागी छन् ।
दुई चरणमा सहभागी तालिममा पहिलो चरणमा महिला हिंसा, यौन, प्रजनन स्वास्थ्य, महिनावारी, गर्भपतन जस्ता विषयमा तालिम दिइएको छ भने दोश्रो चरणमा किशोरीहरुलाई सुरक्षित महिनावारीका लागि सेनेटरी प्याड बनाउन सिकाइएको छ ।
रौलेश्वरमा आयोजित तालिमलाई गाउँपालिका अध्यक्ष बीर बहादुर विष्ट तथा उपाध्यक्ष लिला कुमारी विष्टले संयुक्त रुपमा उदघाटन गरेका थिए । तालिमपश्चात सबै वडामा किशोरी समूह गठन गरिने तथा उनीहरुलाई हरेक घर घर सम्म प्रजनन स्वास्थ्यका बारेमा जनचेतना फैलाउने र प्याड बनाउन सिकाउने गरी भविष्यमा परिचालिन गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
कोरोना महामारी फैलिएको बेला सहभागीहरुको ज्वरो जाँच गरि सामाजिक दूरी कायम गरेर सुरक्षित उपाय अपनाई तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
तालिममा चिकित्सक डा. लोकेन्द्र थापा, सञ्चारकर्मी गोकर्ण भट्ट, हेल्थ टुडे मिडियाका पदमराज जोशी, डम्मरी भट्ट, कुन्ति भट्टलगायत जनस्वास्थ्यविद एवं अन्य प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।