arrow

'एमसीसी गेम चेन्जर, गुमे नेपाललाई क्षति'

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
mcc.jpg

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे विभिन्न धारणा सार्वजनिक भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तत्काल सो परियोजना सङ्घीय संसद्बाट अनुमोदन हुनुपर्नेमा जोड दिएको छ ।

सो पार्टीका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी देशको हित र आर्थिक प्रगतिको पक्षमा रहेको भन्दै यो परियोजना गुमे मुलुकको आर्थिक विकासमा असर पुग्ने बताए ।

प्रतिनिधिसभाको बिहिबारको वैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले एमसीसी परियोजना देशको तीब्र विकास र गरिबी निवारणमा केन्द्रित रहेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका सांसद कार्कीले एमसीसी सम्झौताले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान सहयोग पाउने भएकाले यो परियोजना मार्फत ऊर्जा र सडक निर्माणको क्षेत्रमा खर्च गर्नसकिने बताए । उनले एमसीसी परियोजना सफल भए देश विकासमा कोषेढुङ्गासावित हुने भन्दै सम्झौता पारदर्शी र राष्ट्रहितको पक्षमा रहेको उल्लेख गरे ।

विश्वका ५० भन्दा बढी मुलुकले एमसीसीको सहयोग लिएर आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै उनले जलविद्युत् क्षेत्रका लागि यसले ठूलो गेम चेन्जरको भूमिका खेल्नसक्ने विश्वास व्यक्त गरे । सांसद कार्कीले एमसीसी परियोजना संसदीय प्रक्रियाबाट आएको राष्ट्रहितको सम्झौतालाई राष्ट्रघाती भनेर विरोध गर्नुले राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउनुका साथै अन्तर्राष्ट्रिय छबि धमिलिने खतरा औँल्याए ।

एमसीसी परियोजना सन् २०१७ सेप्टेम्बर १४ मा नेपाल सरकार र अमेरिकी सरकारका अधिकारीबीच सम्झौता भएको थियो । एमसीसी सम्झौता गुमे नेपाललाई आर्थिक क्षतिका साथै अन्तर्राष्ट्रिय विश्वास घट्ने सांसद कार्कीको भनाइ थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हितबहादुर तामाङले एमसीसी आफैँमा विवादित परियोजना भएको र अहिले छलफलमै रहेकाले विवाद नटुङिगएसम्म संसद्मा विषय वस्तु नबनाउन ध्यानाकर्षण गराए । उनले दुई ठूला छिमेकी मुलुक भारत र चीनबीचको सीमा द्वन्द्वका बारेमा गम्भीरता जनाउँदै अहिलेकै अवस्थामा राजधानीका कतिपय स्थानमा हतियारधारी धार्मिक समूह फेला परेको घटनाका बारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराए ।

यता नेकपाकै सांसद रेखा शर्माले एमसीसीबारे अनावश्यक बहस चुलिएको भन्दै यो परियोजनालाई देशको स्वाधिनता र समृद्धिको पक्षमा कसरी लैजाने भन्नेबारे सबै एकमत भएर सदनमा बहस हुनुपर्नेमा जोड दिए । उनले एमसीसीको पक्ष र विपक्षमा विवाद निकालेर जनतालाई भ्रमित गर्ने काम नगर्न समेत सबैमा आग्रह गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी नेपालको हितमा नभएको भन्दै खारेज गर्न माग गरे ।



लोकप्रिय समाचार
नयाँ