काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले कैलालीको बलात्कार घटना निन्दनीय भएकाले त्यसका दोषीलाई कडा कारवाही गर्न सरकार समक्ष माग गरेकी छन् । प्रतिनिधिसभाको बिहिबारको वैठकको विशेष समयमा बोल्दै उनले ‘क्वारेन्टाइनभित्रै महिला असुरक्षित हुन्छन भने आम महिला कहाँ सुरक्षित हुन्छन्’ भनी प्रश्न गर्दै उक्त घटनाका दोषीलाई कारवाही गरी पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिन् ।
नेकपाका झपटबहादुर रावलले कैलाली घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरे । भने काँग्रेसकी सांसद पुष्पा भुसालले कैलाली घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिन्।
सांसद चन्दा चौधरीले नागरिकता विधेयक लामोसमयसम्म संसदीय समितिमा अड्किनु विडम्बना भएको बताउँदै बिहे गरेर आएकी विदेशी महिलाको हकमा सात वर्षसम्म नागरिकताबाट वञ्चित हुने व्यवस्था गलत रहेको तर्क गरिन् । सांसद चौधरी बोलिरहँदा नेकपाका सांसद झपटबहादुर रावलले नागरिकताको विषय संसदीय समितिबाट टुङ्गो लागिनसकेकाले संसद्मा विषयवस्तु बनाइएको भन्दै यसले संसदीय समितिको क्षेत्राधिकार हनन् भएको भनी नियमापत्ति गरे ।
नेकपाका खगराज अधिकारीले क्वारेन्टाइनमा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिन र थप व्यवस्थित बनाउन माग गरे । उनले कोभिड–१९ महामारी नियन्त्रणमा सरकारको प्रयासलाई चौतर्फी आक्रमण गरिएको र अन्य विषय चर्काएर राम्रा कामलाई समेत ओझेलमा पार्न खोजिएकामा आपत्ति जनाउँदै यस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरे ।
सांसद अधिकारीले चीन र भारतबीचको सीमा द्वन्द्वलाई नेपाल छिमेकी मुलुक मात्र नभई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्ष मुलुकसमेत भएका नाताले सर्वपक्षीय भूमिकाका लागि विशेष पहल गर्नुपर्ने बताए ।
नेकपाका बृजेषकुमार गुप्ताले तराईलगायत भू–भागमा धान रोपाइँ शुरु भएको अवस्थामा किसानले मलखादजस्ता समस्या झेलिरहेकाले उनीहरुको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।