हुम्ला। चीनको सीमानासंग जोडिएको हुम्लाको हिल्सामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। देशभरका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने क्रममा चीनको सीमानासंग जोडिएको हिल्सामा पहिलो पटक सशस्त्र प्रहरी बलले सीमा सुरक्षा चौकी स्थापना भएको छ। उक्त बोर्डर आउट पोष्ट (बिओपी) को सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले औपचारिक रुपमा उद्धघाटन गरेका हुन।
सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जनाको टोली रहने सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) कर्णाली प्रदेशमै पहिलो हुम्ला जिल्लाको हिल्सा नाकामा स्थापना भएको हो। सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु वीओपीको पहिलो प्राथमिकता भएको र हिल्सा नाकाबाट नेपाल र चीन दुई देशका विरुद्ध हुने गतिविधि माथि बीओपीले निगरानी गर्ने ससस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हुम्लाका प्रमुख डिएसपी मोहन बिष्टले बताए।
हिल्सामा बिओपी स्थापना गरेसंगै बीओपीका सशस्त्र प्रहरीलाई नेपाली सेनाको स्काई ट्रकबाट हुम्लाको सिमकोट पुर्याईएको थियो। सिमकोटमा रहेको सशस्त्रको बस्दोबस्तीको सामान, खाद्यान्न र बीओपीका लागि खटिएका सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट हिल्सा लगिएको हो। सोही बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्ती गर्न २ साता अगाडि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी बिष्टको नेतृत्वको टोली हिल्सा पुगेको थियो।
हुम्लाका मात्र ४ वटा नाका चीनसंग जोडिएका छन्। जसमा नाम्खाको हिल्सा, नाम्खाको लाप्चा, सिमकोटको चुवाखोला र चंखेलीको टाँके रहेका छन। टाँके र हिल्सामा बिओपी स्थापना गर्ने स्विकृती भएको भइसकेको छ। हिल्सामा बिओपी स्थापना भईसकेको छ भने चंखेलीको टाँकेमा अझै स्थापना हुन सकेको छैन। यि बाहेक नाम्खाको लाप्चा र सिमकोटको चुवाखोलामा पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्न जरुरी रहेको हुम्लाका स्थानियबासीको भनाई छ।
यस अघि नेपाल प्रहरीले हिल्सा सिमा सुरक्षा दिदै आएको थियो भने शनिबारबाट सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भए पछि सिमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले लिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए। हिल्सामा बिओपी स्थापना भएकाले अब यसले सिमामा हुने अपराधिक गतिबिधि रोक्नुका साथै सिमा सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने प्रमुख जिल्ला अधिकार गिरीले बताए।