डोटी । डोटीमा आईतबार मात्रै नयाँ कोरोना संक्रमितको संख्या २१ रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं तथा सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परिक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो । योसंगै डोटीमा कोरोना संक्रमित हुनेको संख्या जम्मा एक सय ३५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २ महिला र १४ पुरुष गरी १६ जना र सेती प्रादेशिक प्रयोगशालामा १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमण भएको पाइएको छ । सेती प्रयोगशालामा देखिएकाहरुमा शिखर नगरपालिका १ जना महिला र ३ जना पुरुष तथा पूर्बीचौकी गाउँपालिका वडा नम्बर ७ का पुरुष १ जना रहेका छन् ।
यस अघि शनिबार मात्रै डोटीमा ५७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १३ महिला र ४४ पुरुष रहेका थिए । उक्त संख्या अहिलेसम्मकै बढी रहेको थियो । जसमा ६ महिने एक शिशु समेत रहेका थिए ।
अहिलेसम्म देखिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था भने सबैको सामान्य रहेको र सबै आ–आफ्नो पालिकाले बनाएको आइसोलेसनमा रहेको बताइएको छ ।