काठमाडौं । यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शव नेपाल ल्याइएको हो ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट छ, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको सङ्घले जनाएको छ ।
यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनका लागि सङ्घले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।