काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण ब्रजिलकै शैलीमा बढिरहेको छ । पछिल्ला दुई दिन १५ हजार भन्दा बढीलाई संक्रमण भएको छ ।
शनिबार २४घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका थिए । शनिबार १५ हजार ८९३ जना संक्रमित भएका थिए । आइतबार १५ हजार १५८ जना संक्रमित थपिएका छन् ।
शुक्रबार १४ हजार ७२१ जना संक्रमित पाइएका थिए । त्यो पनि उच्च नै थियो । आइतबार ४२६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या १३ हजार ७०३ पुगेको छ ।
अहिलेसम्म भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार ९१० पुगेको छ । निको हुने २ लाख ३७ हजार २५२ पुगेका छन् । आइतबार ९ हजार ६९ जनालाई निको भएको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा सबैभन्दा बढी ३ हजार ८७० जना थपिएर १ लाख ३२ हजार ७५ पुगेका छन् । आइतबार १८० मृतक थपिएर ६ हजार १७० पुगेका छन् ।
दिल्लीमा २४ घण्टामा ३ हजार संक्रमित थपिएका छन् । मृतक ६३ थपिएका छन् ।
ब्रजिलमा कस्तो छ स्थिति
भारत विश्वको चौथो स्थानमा रहेको छ । ब्रजिल दोस्रो स्थानमा छ । ३० हजारको हाराहारीमा संक्रमित थपिँदै आएकामा ब्रजिलमा आइतबार १६ हजार ८५१ जनामात्र थपिए । त्यस्तै मृतक १००० बढी हुँदै आएकामा आइतबार ६०१ जना थपिए ।
ब्रजिलमा केही कमी आएको देखिएको हो । अहिलेसम्म १० लाख ८६ हजार ९९० जना संक्रमित हुँदा मृतकको संख्या ५० हजार ६५९ पुगेको छ ।