दार्चुला । नेपाली कांग्रेसको भ्रातृ संगठनहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघले वर्तमान सरकारको ध्यानाकर्षण गर्न तथा खबरदारी गर्न खलंगामा र्याली निकालेका छन् ।
वर्तमान सरकार कोरोना नियन्त्रण तथा रोकथाम गर्नुको सट्टा चरम भ्रष्टाचार, अनियमितता तथा कालोबजारीमा डुबेको भन्दै खबरदारी गर्न आइतबार र्याली निकालिएको हो ।
वर्तमान सरकार आवश्यक पीसीआर र स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्न छोडेर व्यापक भ्रष्टाचार, अनियमितता र कालोबजारीमा लिप्त रहेको भन्दै संगठनहरुले विरोध र्याली स्वरुप सरकारको खबरदारी गरेका छन् ।
खबरदारी सभामा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव हरक सिंह बिष्टले वर्तमान सरकारले नेपाली जनतालाई दुःख दिने काम गरेको बताए ।
नेपाली जनताको जीउधन र स्वास्थ्योपचार गर्न छोडेर बर्तमान ओली सरकार भ्रष्टाचार अनियमिततामा लागेको आरोप लगाए । यस्तै सरकारले कोरोना महामारीको रोकथाम भन्दा पनि जनतामाथि कम्युनिष्ट तानाशाह जमाउन खोजेको काँग्रेसका युवा नेता उमेश खत्रीले आरोप लगाएका छन् ।
अहिले सरकार चीनकोे इशारामा लागेर जनतालाई दुःख दिने मात्र काम गरेको उनले बताए । चीनकोे उक्सावटमा नलाग्न काँग्रेस युवा नेता खत्रीले सरकारलाई चेतावनी दिएका छन् ।
खबरदारी सभामा १० अर्ब खै ?, आरडिटी बन्द गर, पिसिआर परिक्षण गर, जातिय विभेद अन्त्य गर, व्यापारीलाई सहुलियत ऋण दे लगायतका नारा लगाइएका थिए ।
यस्तै नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल दलित संघ दार्चुलाले रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न सरकारसंग माग गरेको छ ।
दलित संघले उक्त घटना जातिय विभेदको कारण देखाउँदै घटाएको भन्दै आपत्ति समेत जनाएको छ । संविधानमै जातिय विभेद गर्न नहुने उल्लेख भएको अवस्थामा रुकुममा जातिय विभेद गर्दै नवराज विक सहित ६ जनाको कुटीकुटी हत्या गरेको घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै संघले खलंगामा खबरदारी सभा गरेको छ ।
खबरदारी सभालाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका पूर्व सदस्य प्रदेशी सुनारले दलितमाथि पटक‐पटक गरिने जातिय विभेदले संविधानलाई नै अर्थहीन बनाएको बताए ।
सामाजिक कुरितीको रुपमा जरा गाडेर बसेको जातिय विभेद अन्त्य नभएसम्म देशको आर्थिक र सामाजिक सदभाव सम्भव नभएको उनको भनाई थियो । रुकुम घटनाको सत्यतथ्य छानविन नगरे देशभरका दलित सडकमा उत्रिने चेतावनी समेत दिएका छन् ।
यस्तै खबरदारी सभामा नेपाल दलित संघका जिल्ला अध्यक्ष सन्तोश दयालीले रुकुम घटनाको सत्यतथ्य छानविनमा प्रतिनिधिसभा सदस्य जर्नादन शर्माले अवरोध गरिरहेको आरोप लगाए ।
जातियताको मुद्दा एजेण्डा बनाएर चुनाव जितेका सांसद शर्माले दलितहरुको मनोबल कमजोर बनाउने र कमजोर मानसिकताका अभिव्यक्ति दिएको प्रति उनले आक्रोश व्यक्त गरे ।
सांसद शर्माले जातिय छुवाछुत र भेदभाव गर्दै कुटीकुटी हत्या गरेका नवराज विक सहितका ६ जना भेरीमा बगेर मृत्यु भएको अभिव्यक्ति दिदा घटनाको अनुसन्धानसमेत प्रभावित भएको उनको आरोप छ ।
अध्यक्ष दयालीले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।