दार्चुला । पहिलो पटक सशस्त्र प्रहरीको गस्ती टोली नेपाल चीन सीमा १ नम्बर पिल्लर पुगेको छ । सीमा सुरक्षामा खटिएको छाङ्गरुमा बोर्डर आउट पोस्ट (बीओपी) को २५ जनाको टोली गस्तीका क्रममा पहिलो पटक नेपाल चीन सीमा १ नम्बर स्तम्भमा पुगेको हो ।
छाङ्गरुमा स्थापना भएको आउट बोर्डर पोष्ट आसपास मात्रै गस्ती गर्ने गरेको सशस्त्र प्रहरी पहिलो पटक गस्तीका क्रममा १ नम्बर पिलर पुगेको हो ।
यस्तै असार ३ गते सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापाले छाङरु भ्रमण समेत गरेका थिए ।
असार ३ गते सीमा गस्तीमा हिडेको सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको २५ जनाको टोली नेपाल चीन सिमासम्म पुगेर आइतबार फर्किएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डिएसपी डम्बर बहादुर विष्टले बताए ।
‘३ असारमा फोर्स मार्चमा गएको टोली नेपाल चीन सीमा क्षेत्रको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । छाङ्गरुमा बीओपी स्थापना भएपछि पहिलो पटक त्यहा पुगेको हो’ डिएसपी विष्टले भने ।
सशस्त्र प्रहरीले लिपुखोलामा भारतीय पक्षले लगाएको काठेपुल समेत हटाएको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा, तथा निसान छाप जारी गरेपछि कालापानी क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।
गत वैशाख ३१ गते ब्याँस गाउँपालिका १ स्थित छाङ्गरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको थियो ।