काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा विरोध खतिवडाले शुरुआतीका दिनमा स्वास्थ्य सामग्री खरिद गर्ने भनी अनुमति पाए पनि ल्याउन नसकेको कम्पनीलाई कालो सूचीमा राख्ने एवं आयात गरिएका सामग्रीको भ्याट र भन्सार मिनाह गर्ने तथा विदेशबाट ल्याइएका समग्रको गुणस्तर परीक्षण गर्ने कार्य के कसरी भएको छ भनी प्रश्न गरे ।
महामारी फैलिएका अन्य मुलुकका सरकार र कर्मचारी बिरामीको अवस्था देखेर रुवावासी गरेको देखिए पनि हाम्रो देशमा यस्तो बेलामै खरिदमा अनियमिता हुँदा जनताले के बुझ्छन् भनी प्रश्न गर्दै सांसद धर्मशीला चापागाईले भनिन्, “होल्डिङ सेन्टर र क्वारेन्टाइन अस्तव्यस्त छन्, अझै सीमा पारी नेपाली घर फर्कन नपाएर रुवावासी गरिरहेको अवस्था छ, त्यो अन्त्य होस् ।”
समितिका सदस्य राजेन्द्रकुमार केसीले कोरोना भाइरसभन्दा भ्रष्टाचारको भाइरसको संक्रमण छिटो गतिमा विस्तार भइरहेको विचार प्रकट गरे । सांसद प्रदीप यादवले भने, “कोरोनाका लागि मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा धेरै गडबड छ, घोटला भएको छ, यस्तो बेला अनियमित गर्नेमाथि कडा कारवाही हुनुपर्छ ।”
समितिका सदस्य सूर्य पाठकले कोरोना नियन्त्रणका लागि सरकारले सामग्रीको जोहो र तयारीमा किन ढिलो गरेको हो त्यसको चित्तबुझ्दो जवाफ चाहियो भने । अर्का सदस्य डा मीनेन्द्र रिजालले सामान खरिदमा सल्लाहकारको निर्णय किन आवश्यक पर्यो भनी जिज्ञासा राखे।
समितिका सदस्य चन्दा चौधरी र मोहम्मद इस्तियाक राई स्वास्थ्य सामग्री खरिदमा सार्वजनिक ऐनलाई पन्छाएर नीतिगत भ्रष्टाचार भएको दावी गरे । समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि भइरहेको प्रयास, स्वास्थ्य सामग्री प्रक्रिया र त्यसमा भएको भनिएको अनियमितका सम्बन्धमा मन्त्रालयका पदाधिकारीसँग जानकारी माग गरेको हो ।