arrow

अभिभावकलाई शैक्षिक संस्था नखुलेको अवधिको कुनैपनि शुल्क नतिर्न नेविसंघको आह्वान, सरकारमाथि प्रश्न 

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था  ‘प्याब्सन’ र ‘नेसनल प्याब्सन’ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै गत आइतबार अभिभावकलाई लकडाउन अवधिको शुल्क तिर्न ताकेता गरेपछि गम्भीर आपत्ति जनाएको छ ।

गएको चैत महिनाको ५ गतेदेखि विद्यालयहरु ठप्प छन् । विद्यार्थीले आफूले दिएको परीक्षाको लब्धांक पत्रसमेत प्राप्त नगरेको अवस्थामा विद्यालयले भने अभिभावकलाई शुल्क तिर्न आब्हान गरेपछि नेविसंघले घोर विरोध गरेको हो । 

नेविसंघले विज्ञप्ति जारी गर्दै ‘विगत लामो समय देखि नेपाली विद्यार्थीहरु लकडाउनका कारणले घरमै सिमित भएर वसेको सर्वविदितै छ । मुखमै आएका विभिन्न परीक्षाहरु स्थगित भएको मात्र हैन, विद्यालयहरु कहिलेदेखि सुचारु हुन्छन् भन्ने अन्यौलता समेत रहेको र कोरोना संक्रमणका त्रासले मनोवैज्ञानिक रुपमा समेत त्रसीत भएर वसेको यस अवस्थामा नेपाली विद्यार्थीहरु तनाव, दवाव र त्रास एकसाथ झेली रहेका छन् । यस्तो अवस्थामा विगत ३ महिनादेखि वन्द रहेको विद्यालयहरुले यस विचको शुल्कहरु चुक्ता गर्न अभिभावकहरुलाई गरेको अपिल हास्यास्पद र भत्सर्नायोग्य छ ।’

नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा मन्त्रालयले विगत २०७७–०१–२२ मा माननीय मन्त्री स्तरमा निर्णय गरी नेपाल सरकारबाट अर्काे निर्णय नभए सम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठन पाठनका नाममा कुनै शुल्क लिने वा वैंक खातामा रकम जम्मा गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन गरेको अवस्थामा प्याब्सन र नेशनल प्याब्सनले कसरी यस्तो अपिल गरे ? त्यसै गरी प्याब्सन र नेशनल प्याब्सनले यसरी खुल्ला अपिल जारी गरेर अभिभावकहरुलाई शुल्क (बाँकी बक्यौता) बुझाउन भन्दा पनि शिक्षा मन्त्रालय र यो सरकार के हेरेर वसी रहेको छ ? आज नेपाली विद्यार्थीहरु अचम्भीत भएर यो प्रश्न गरी रहेका छन् ।’

नेविसंघले भनेको छ, ‘अतः शैक्षिक संस्था नखुलुन्जेलको अवधि भरको कुनै पनि प्रकारको शुल्क नतिर्न सम्पूर्ण अभिभावकहरुलाई नेपाल विद्यार्थी संघ आव्हान गर्दछ । प्याब्सन र नेशनल प्याब्सनलाई तुरुन्त उक्त निर्णय फिर्ता लिन र सरकारले गम्भीरतापूर्वक यो समस्या समाधान गर्न तदारुकता देखाओस् भन्दै खवरदारी गर्न चाहन्छौ । तर विद्यार्थीका अभिभावकहरुसंग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुल्ने कुरा नेविसंघलाई कुनै हालतमा मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौ ।’ 

त्यस्तै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले भनेका छन्, ‘प्याब्सन, एनप्याब्सनको मनपरीलाई सरकारले रोक्नुपर्छ । शिक्षामन्त्रीलाई शुल्कमा छुट दिन पटक पटक गरीएको हाम्रो आग्रह लाइ पुनःस्मरण गराउॅंदै साना–साना बालबालिकालाई अनलाइमा जोड्ने र त्यसैको नाममा शुल्क उठाउनु बाञ्छनीय हुन्न ।’

उनले अगाडि भने, ‘नेविसंघ यसको विरूद्धमा छ ।  यसैलाई कक्षा सञ्चालन भइरहेको भनेर कुनै पनि अभिभावकसॅंग शुल्क लिन पाइन्न । बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने बेलामा विद्यालयले झन् तनाव थप्नु मानवीय हिसाबले पनि उपयुक्त छैन ।’ 



लोकप्रिय समाचार
नयाँ