गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा नेपाली काँग्रेसका गाउँपालिका सभापति अन्य पार्टीमा प्रवेश गरेको भनेर गरिएको अनर्गल प्रचारप्रति नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसको साधारण सदस्य समेत नरहने गरी एक महिनाअघि नै पार्टीबाट निलम्बित गरिएका इस्मा गाउँपालिका–५ का रामप्रसाद पन्थलाई काँग्रेसको भनेर प्रचार गरिनु गलत रहेको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
गएको जेठ ४ गते जिल्लाबाट काँग्रेसले उनलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । उनले पार्टीमा रहँदा पार्टीको हितबिपरित एकलौटी ढङ्गबाट मनपरी रुपमा काम गरेको र पार्टीको गोपनियता भङ्ग गरेकाले पार्टीबाट निष्कासन गरेको गुल्मी काँग्रेसले जनाएको छ ।
स्थानीय कार्यकर्ताबाट लिखित रूपमा व्यापक गुनाँसो आएका कारण उनलाई पार्टीबाट निलम्बित गरिएको सभापति श्रेष्ठले बताए ।
पार्टी र संगठनहित विपरित कार्य गरे बापत सजायको भागी हुन सक्ने भयले निलम्बन रहेकै अवस्थामा अन्य पार्टीमा प्रवेश गरेको भनी गरिएको घटनाले नेपाली कांग्रेसलाई फरक नपर्ने श्रेष्ठको भनाई रहेको छ ।
बरु पार्टीको गोपनियता भङ्ग गर्ने कार्यकर्तालाई कारबाही गर्दा अन्य कर्मशिल, पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताको मनोबल उच्च हुने उनले बताए ।