चीतवन । हेटौँडाका एक युवा व्यवसायी बुधबार बिहान जंगलमा मृतावस्थामा भेटिएका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव बुधबार फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंका गरेको छ ।
शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ ।