उलानबटोर। मंगोलियामा बुधबार भएको संसदीय निर्वाचनमा अति न्यून सहभागिता भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार निर्वाचनमा मध्याह्नसम्ममा २५.१३ प्रतिशत मतदाता मात्रै सहभागी भएका छन्। मतदान स्थानीय समय अनुसार बिहान ७ बजे शुरु भएको थियो।
मतदानका लागि देशभरी दुई हजार ७० मतदान केन्द्रहरु स्थापना गरिएका छन्। निर्वाचनमा कम्तीमा १३ राजनीतिक पार्टी, चार ओटा गठबन्धन र १३७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचनमा मतदान गर्नका लागि देशभरी झण्डै २१ लाख जनाको नाम मतदाता नामावलीमा रहेको छ। मंगोलियाको एक सदनात्मक स्टेट ग्रेट खुरालमा निर्वाचनबाट ७६ जना सांसद चार वर्षे कार्यकालका लागि निर्वाचित हुनेछन्।