काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) छल्न संसद वैठक एक हप्ता सारेको भन्दै सभामुख अग्नी सापकोटसँग प्रधानमन्त्री केपी ओली रुष्ट भएका छन्।
एमसीसी सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै प्रधानमन्त्री ओली रुष्ट भएका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार उक्त सम्झौता असार १६ गतेभित्र संसद्बाट अनुमोदन भइसक्नुपर्नेछ।
सो मितिलाई टार्ने नियतले सभामुखले पूर्व माओवादी नेताहरुसँगको परामर्शमा एक हप्ता पछि असार १७ गते मात्र वैठक बोलाएपछि प्रधानमन्त्री ओली रुष्ट भएका हुन्।
प्रधानमन्त्री ओलीले सभामुखलाई वैठक एक हप्ता पछि सारेर राम्रो नगरेको भन्दै रिसाएका थिए। प्रधानमन्त्री ओली एमसीसी पारित गराउने पक्षमा छन् । उनले एमसीसीको बारेमा पढ्दै नपढी हल्लाको पछि मात्र लागेको बताउँदै आएका छन्।
राष्ट्रिय सभाको वैठकमा पनि सांसदहरुको जवाफ दिने क्रममा उनले सो कुरालाई दोहोर्याउँदै एमसीसीको विपक्षमा बोल्ने नाममा टाउकाले टेकेर उल्टो नहिड्न भनेका थिए।
एमसीसीको पक्षमा उभिए पनि ओलीलाई उनकै दलभित्र प्रचण्डले यस बिषयमा सहयोग गरेका छैनन। पूर्व माओवादी यसको विपक्षमा छन्। पूर्व एमालेका झलनाथ खनाल, वामदेव गौतम, माधव नेपाल समूहभित्रका भीम रावल लगायतका नेताहरु यसको विपक्षमा छन्।
एमसीसीको बारेमा नेकपामा मिश्रीत प्रतिक्रिया आइरहँदा नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनी निकटहरु अल्पमतमा पर्ने सम्भावना समेत रहेको छ।
ओली अल्पमतमा पर्ने सम्भावनासँगै प्रचण्ड सहितका नेकपाका नेताहरुले एक व्यक्ति एक पदको कुरालाई फेरि उठाएका छन्। प्रचण्डले ओलीमा अहंकार बढेको मात्र बताएनन् आलोपालो प्रधानमन्त्री छोडेर गल्ती महशुस भएको समेत स्थायी कमिटी वैठकमा राखेका छन्।
एमसीसी सम्झौता अनुमोदनका विषयमा पार्टीमा छलफल भइरहेका बेला सभामुखले सरकारसँग सल्लाहै नगरी बैठक सारेपछि प्रधानमन्त्री खुबै रिसाएको वालुवाटार स्रोतले बताएको छ। तर प्रचण्डको आड पाएका सापकोटा ओलीसँग गलेनन् ।
आफ्नै दलभित्र असहयोग खेपिरहेका प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदनको मिति सकिनै लाग्दा यो परियोजना नविकरणको लागि अनुरोध गर्दै अमेरिकी सरकारलाई पत्राचार गराएका छन्। अमेरिकी विदेशमन्त्रीसँगको टेलिफोन संवाद पनि यहि सिलसिलामा भएको अनुमान नेकपा वृत्तमा छ।