काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमित बढेको बढ्यै भएका छन् । बुधबार ३९ हजार २७ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म संक्रमितको संख्या २४ लाख ६३ हजार १९५ जना पुगेका छन् । मृतक बुधबार ८०७ थपिएका छन् । अहिलेसम्म मृतक १ लाख २४ हजार २८० जना पुगेका छन् ।
निको हुनेको संख्या १० लाख ४० हजार ५१ पुगेको छ । अमेरिकामा पछिल्लो समय संक्रमितहरु निकै बढिरहेका छन् ।
ट्रम्पको बेवास्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले कोरोना नियन्त्रणमा कुनै चासो नदिएको आरोप लागेको छ । ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने अभिलाषाका साथ सडकमा उत्रिएका छन् ।
उनी यो हप्तामात्रै पनि मेक्सिकोको बोर्डरमा पुगेर आफ्नो चुनावी अभियानलाई बढाएका छन् ।
त्यस्तै विभिन्न कन्फरेन्समा भाग लिएका छन् । उक्त समयमा कुनै पनि कोरोनाबाट भाग्ने सामाजिक दूरीको पालना गरिएन ।
उनले ड्रिमसिटी चर्च एरिजोनामा पनि विद्यार्थीहरुलाई सम्बोधन गर्न भ्याए ।
उनले यसैसाता पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडालाई पनि भेटेका छन् ।
जातियता आन्दोलन पनि रोकिएन
अमेरिकामा जातियताको आन्दोलन पनि रोकिएको छैन । सामाजिक दुरीको धज्जी उडाएरै पनि त्यहाँ गतिविधि भइरहेका छन् । हजारौंको संख्यामा मानिसहरु दैनिक सडकमा उत्रिइरहेका छन् ।
अस्वेत जातिलाई अमेरिकामा खुलेआम मारिएको भन्दै अस्वेत नागरिकहरु सडकमा उत्रिदै आएका छन् । यसको विरोध पनि विश्वभर भएको छ ।