स्याङ्जा। विश्वभर फैलिएको कोराना भाईरसका कारण नेपाल सरकारले गरेको ३ महिने लामो लकडाउनमा सबैभन्दा बढी मर्कामा उद्योगी व्यवसायी परेका छन् । लकडाउनका कारण सबै व्यवसाय संचालनमा हुन नसकेपछि वालिङमा भाडामा व्यवसाय गर्दै आएका केही व्यवसायीलाई घरभेटीले भाडा छुट दिएका छन्।
नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा चिनिएको नीजि क्षेत्रलाई हातेमालो गर्दै घरधनीले भाडा छुट दिने १७ जनालाई सम्मान गरेको छ । घरभाडा छुट दिदा व्यवसायीलाई केही राहत मिलेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
विश्व माहामारीले आर्थिक संकट परेका बेला व्यवसायीलाई घरभाडा छुट दिएर सकारात्मक सन्देश घरधनीले दिने काम भएको छ। अध्यक्ष पौडेलले भने, “यो कार्यले उद्योगी व्यवसायीलाई हौसला प्रदान र ठुलो राहत मिलेको छ ।” व्यवसायी संकटमा पर्दा हातेमालो गर्नुपर्छ भन्ने सहयोग घरधनीले दिनुले यो सकरात्मक सन्देश हो उनले भने । व्यवसायी र घरधनी विचको यो सुमधुर सम्वन्धले सरकारलाई पनि साथ सहयोग मिल्ने विश्वास अध्यक्ष पौडेलको थियो । १७ जना घरधनीले व्यवसायीलाई घरभाडा छुट दिएको खबर पाएपछि सम्मान गर्ने अभियानको थालनी गरेको बताइएको छ ।
सरकारले बन्दाबन्दीका कारण उद्योगी व्यापारी व्यवसायीहरुलाई आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै घरभाडा छुट दिन आव्ह्रान गरेको अनुरोधलाई १७ जना घरधनीले सहर्ष स्विकार गरेका छन् । घरधनीले जसरी उद्योगी व्यवसायीलाई घरभाडा छुट दिएर हौसला प्रदान गर्ने काम भएको छ त्यस्तै बैंक वित्तिय संस्थाले पनि साझा अवधारणा बनाई व्याजमा सहुलियत दिन नीजि क्षेत्रले आग्रह गरेको छ।
विषम परिस्थितिमा जिल्लाभित्रका नीजि क्षेत्रका अगुवाहरुलाई वालिङ उद्योग वाणिज्य संघको आव्हानमा निमन्त्रणा गरी साझा धारणा तयार गरेर जिल्ला प्रशासन कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत नेपाल सरकारलाई घच्घच्याउने काम निरन्तर रुपमा भईरहेको संघका महासचिव ध्रुव विक्रम खाँणले बताए । सरकार संकटमा पर्दा नीजि क्षेत्रले सहयोग गर्दै आएको स्मरण गर्दै महासचिव खाँणले भने,“व्यवसायी संकटमा पर्दा नेपाल सरकारले सहयोग गर्नु आवश्यक छ ।” सबैको साझा समस्या सम्झेर अगाडी बढ्नुपर्ने बेला आएको खाँणले बताए ।
वालिङ उद्योग वाणिज्य संघका सदस्यहरुलाई कोभिड–१९ का कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै विमाको कार्यक्रमलाई अगाडि सारिएको संघले सम्मान कार्यक्रममा जानकारी गराएको छ । विमा सुविधा लिनका लागि उद्योग वाणिज्य संघका सदस्यहरुले आर्थिक बर्ष २०७७/०७८ सम्मको सदस्यता नवीकरण गरेर सहयोग र समस्या न्युनिकरणमा लाग्न पनि आग्रह गरेको छ । संघले बैंक वित्तिय संस्थाहरुलाई घरदैलो गरेर व्यवसायीलाई व्याज तिर्न दवाव नदिन समेत आग्रह गरेको छ ।
व्यवसायीलाई घरभाडा छुट दिएर सम्मानित भएका घरधनी हेमप्रसाद गैह्रेले यो सङ्कटको अवस्थामा उद्योगी व्यापारी व्यवसायीहरुलाई स्वेच्छिक सहयोगको रुपमा घरभाडामा छुट गर्न भित्रैबाट आएको बताए । देशै संकटका बेला सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बेला आएको गैहे्रले बताए ।
चुनमाया गुरुङ, नौबहादुर गुरुङ, सुमन गुरुङ, छलीमाया गुरुङ, दलबहादुर गुरुङ, क्या.रुकबहादुर गुरुङ, पदमराज गुरुङ, नमु मस्राङ्गी मगर, चौ बहादुर गुरुङ, हेमप्रसाद गैह्रे, श्यामप्रसाद डुम्रे, खुमा अर्याल, पदमबहादुर खत्री, निलकण्ठ भट्टराई, सेवाकुमारी गुरुङ, मञ्जु के.सी, शम्भु अर्याल लगायतका घरधनीले भाडा छुट दिएको वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।