स्याङ्जा । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म स्याङ्जामा दुई जनाको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका पुरुषको निधन भएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ बर्षका ती पुरुषको बुधबार राती निधन भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकमा कोभिड १९ संक्रमणसँगै सिभियर न्युमोनिया,मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।
गण्डकीमा ज्यान गुमाउने संक्रमित दुवै जना स्याङजाका हुन् । यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि स्याङ्जामा त्रास फैलिन थालेको छ । सबै नागरिकहरु घरमै बस्न र भिडभाडमा नजान स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले आग्रह गरेका छन् ।
यो मृत्युसंगै नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।