दिप्रुङ चुइचुम्माको नीति तथा कार्यक्रमः जेष्ठ पत्रकारलाई मासिक भत्ता र पत्रकारलाई उपचार खर्च
२०७७/०७८ का लागि ५१ करोड ४२ लाखको बजेट
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ११ बिहिबार
106
Shares
खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पत्रकारलाई भत्ता र उपचार खर्चको सुविधा दिने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा जिल्लामा निरन्तर पत्रकारिता गरिरहेका ५५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पूरा गरेका पत्रकारहरुका लागि मासिक रुपमा दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराईने उल्लेख छ।
महासंघको सदस्यता लिएर पत्रकारितासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारहरुका लागि यो व्यवस्था लागू नहुने नीति तथा कार्यक्रममा उल्लेख छ ।
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई गम्भीर प्रकृतिका मुटु रोग, क्यान्सर, मष्तिष्क घात भएमा त्यस्ता पत्रकारहरुका लागि गाउँपालिकाले उपचारमा लागेको खर्चको २० प्रतिशत सहयोग गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
बुधबार गाउँपालिकाको सातौं गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै अध्यक्ष भुपेन्द्र राईले गाउँपालिकालाई सूचना तथा संचारको दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकसित गर्ने लक्ष्य राखेर पत्रकारलाई भत्ता, सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनलगायत सूचना र सञ्चारका कार्यक्रमहरु नीति तथा कार्यक्रमबाट पास गरेको हो ।
जिल्लामा संचालनमा रहेका संचार माध्यमहरुको विकासका लागि नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पूरा गर्ने संचार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराइने पनि उल्लेख गरिएको छ।
यस्तै, सामुदायिक संवाददाताहरु उत्पादन गर्न पत्रकारिता प्रशिक्षण सञ्चालन गरिने, एफएम रेडियो संञ्चालनका लागि अनुमति दिइने लगायतका कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।
गाउँपालिकाको सुशासन अभिबृद्धिका लागि सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयनमा जोड दिने र गाउँपालिकाका हरेक सूचना जनताका घर–घरमा पुर्याउने लक्ष्य राखिएको राईको भनाई छ ।
पत्रकारलाई राष्ट्रको चौथो अंग भनिए पनि पत्रकार र उनीहरु आबद्ध सञ्चारमाध्यमलाई भनेजस्तो सेवा सुविधा नभएको उल्लेख गर्दै अध्यक्ष राईले भने ‘समाज परिवर्तन र विकासका निम्ति बिना पारिश्रमिक, बिना तलब अहोरात्र खट्ने पत्रकार र मिडियामैत्री कार्यक्रम ल्याएका छौं। अन्य स्थानीय तह, प्रदेश र संघीय सरकारले पनि यसलाई अंगिकार गर्न सके मिडियाको विकासमा धेरै योगदान पुग्न सक्छ।”
सरकारले पत्रकार र सञ्चारमाध्यमका लागि उचित कार्यक्रम ल्याउन नसकिरहेको अवस्थामा यस गाउँपालिकाले पत्रकार र मिडियाका लागि नयाँ तथा प्रभावकारी कार्यक्रम ल्याएकोमा स्थानिय मिडिया र पत्रकारहरुले खुसी प्रकट गरेको नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाईले बताए। यसैविच, गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।