arrow

नुवाकोटको विदुर नगरपालिकामा प्रहरी परिचालन र पत्रकार निषेध गर्दै बजेट प्रस्तुत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ११ बिहिबार
Bidur-nagarpalika-birodh.jpg

नुवाकोट। नुवाकोट विदुरनगरपालिकाको सातौं नगरसभाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रहरी परिचालन गरेर पास गराएको छ। नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा सदस्य जनप्रतिनिधिको विरोधपछि नेपाल प्रहरी र सशस्त्र परिचालन गरेर १ अर्ब ८ करोड ७४ लाख रुपैयाँ बजेट पारित गरेको हो।

लक्षित वर्गलाई माग गरेको बजेटका बारेमा छलफल नगरी एकतर्फी एवं निरकुंश ढंगले मेयर सन्जु पण्डितले बजेट ल्याएको भन्दै कांग्रेसले विरोध गरेको थियो । सभाध्यक्ष एवं मेयर पण्डितले नगरसभाका सदस्यहरुलाई कुर्सीमा पटक पटक आग्रह गर्दा पनि विरोध जनाइरहे । विरोध जारी रहेपछि स्थानीय सरकार संचालन ऐन हेर्न आग्रह गरे ।

बजेटको विरोध जारी रहेपछि प्रमुख प्रशासकीय अधिकृत सुकदेव पोखरेललाई मेयर पण्डितले माइक दिए । प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कांग्रेसका जनप्रतिनिधि कुर्सीमा नबसेपछि भने, तपाईहरु मान्नु भएन भने प्रहरी लगाएर बाहिर निकालेर सभा चलाउछौ’ भनेपछि हंगामा भएको थियो। 

एउटा कर्मचारीले प्रहरी लगाएर जननिर्वाचित प्रतिनिधिलाई निकाल्छु भनेपछि कांग्रेस जनप्रतिनिधिहरु आक्रोसित भए । नगर प्रहरीले रोष्टममा जान दिएनन् । त्यसपछि घम्साघम्सी भयो । त्यसपछि मेयर पण्डितले नेपाल प्रहरी र सशस्त्र मगाए ।

कांग्रेसका जनप्रतिनिधिले डेढ घण्टा नारावाजी जारी राखेपछि मेयरले १५ मिनेटका लागि सभा स्थगित गरे। पुनः दोस्रो चरणमा राष्ट्रिय गान सहित मेयर पण्डितले बैठक सुरु गरे । मेयर पण्डितले राखेका जनसम्पक अधिकृत रामहरि अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पोखरेल, मेयर निकट केही संचारकर्मीको ईसारामा पत्रकारलाई बाहिर जान भनिएको थियो।

जनसम्पर्क अधिकृत नियुक्त गरेका अधिकारी स्थानीय निर्वाचनमा एमालेबाट वडा नम्बर ७ बाट वडाध्यक्षमा पराजित व्यक्ति हुन्। 

कोरोनाको संक्रमणको अवस्था भएको भन्दै मेयर पण्डितले पत्रकारलाई बाहिर जान पटकपटक भने।त्यसपछि आक्रोसित पत्रकारले सूचनाको हक खोसिएको र मेयर निरंकुश भनेर बजेट पेस गर्न खोजिएको, पहिला पत्रकारलाई निमन्त्रण गरेर पछि मेयर पण्डितले निषेधको राजनीति गरेको भन्दै केही पत्रकारले कार्यक्रम बहिष्कार गरेर निस्किएका थिए।

त्यसपछि मेयरले विरोधका बाबजुद नीति तथा कार्यक्रम वाचन गर्न थाले। त्यसपछि कांग्रेसका जनप्रतिनिधिले विरोध गरेपनि अन्त्यमा सभा बहिष्कार गरी पत्रकार सम्मेलन गरेका थिए।

मेयर पण्डितले न्यायोचित तथा समानुपातिक ढंगले बजेट सबै वडामा नदिई आफ्ना कार्यकर्ता भएका स्थानमा बढी र विपक्षको ठाउमा कम दिने गरेको, लक्षित वर्ग र महिलाका विषयमा बजेट दिन कन्जुसाईं गरेको आरोप छ।

‘महिलाको कार्यक्रमलाई र लक्षित वर्गलाई बजेट दिएनन्,’ ३ नम्बर वडासदस्य बवि रिमालले भनिन्,‘सबैलाई समान ढंगले बजेट दिन पर्यो ।’

२ नम्बरका वडाध्यक्ष वीरेन्द्रकुमार शाही, ३ नम्बरका वडाध्यक्ष बद्री रिमाल, ७ का महेन्द्र तामाङ, ८ का फैसिं तामाङ, १० का गणेश नेपाल र १३ का दलबहादुर तामाङ लगायत वडासदस्यहरुले विरोध जनाएका थिए ।

वडाध्यक्षहरुसंग छलफलै नगरी सिण्डिकेट गरि बजेट ल्याएपछि विरोध जनाएको वडाध्यक्ष दलबहादुर तामाङले बताए । वडाध्यक्षहरुसंग छलफल नगरी होटलमा बनाएर बजेट ल्याइएको, आफ्ना कार्यकर्ता भएका ठाउमा बढी र विपक्षलाई कम गरेर बजेट ल्याएको, तीन पटकको बजेटमा सहेर बस्दा पनि अति गरिरहेपछि विरोध जनाएको कांग्रेसका जनप्रतिनिधिहरुले बताए ।

बलजफ्ती पारित बजेट अमान्य हुने कांग्रेसले जनाएको छ । विदुरनगरले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, व्यवसाय कर सम्बन्धी कार्यविधि, घर वहाल कर व्यवस्थापन कार्यविधि, नगर प्रहरी व्यवस्थापन सम्बन्धी ऐन २०७७ प्रस्तुत गरेको थियो । 

बुधबार पेस भएको बजेट कार्यक्रममा तारकेश्वर गाउँपालिकामा कांग्रेसका जनप्रतिनिधिले विरोध गरेको र उक्त विरोधमा धकेलाधकेल हुँदा एक संचारकर्मीको क्यामेरा क्षति पुगेको, लिखु गाउँपालिकामा एक सदस्यले विरोध जनाएपछि स्थगित भएको बजेट कार्यक्रम बिहिबार सुरु भएको छ। नुवाकोटका १२ वटै स्थानीयतहमा बजेट प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ