काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।
हाल देशभर बदली रहेको छ र देशभरका धेरै स्थानहरुमा वर्षा भइरहेको छ । शुक्रबार दिनभर जसो नै वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाले देशभर सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित भारी वर्षाको संभावना रहेको जनाएको छ ।
आगामी २४ घण्टाका लागि महाशाखाले चेतावनी तथा परामर्श नै सार्वजनिक गरेको छ । उसले देशभर धेरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश , प्रदेश नं ५ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत संभावना रहेको जनाएको छ ।
तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
काठमाडौं उपत्यकामा पनि शुक्रबार बिहानैदेखि भारी वर्षा भएको छ । उपत्यकामै डुबान हुन सक्ने खतरा बढेको छ । सावधानी अपनाउन आग्रह गरिएको छ ।
यो क्रम शनिबार र आइतबार पनि रहने बताइएको छ । बिहीबार पनि मुलुकका सबैजसो भागमा वर्षा भएको थियो ।
असारे विकासे खेतीका कारण सडक खन्ने, पानीले निकास नपाउने हुँदा उपत्यकाभित्रै पनि धेरै समस्या भएको छ । स्थानीयहरुले गुनासो गर्दासमेत पनि यसको सुनुवाइ नभएको गुनासो गरेका छन् ।
अहिले विभिन्न सडकमा पिच गर्ने वा ग्राभल गर्ने क्रम चलेको छ । असार मसान्तभित्रै यस्ता काम सकेर बजेट सिध्याउन खोज्दा समस्या आइपरेको गुनासो आइरहेको छ ।