काठमाडौं । लिभरपुलले ३० वर्षपछि इंगलिश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । लिभरपुलले यसपालि सशक्त प्रदर्शन गर्दै ७ खेलअघि नै उपाधि जितेको हो ।
लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए ।
यसअघि लिभरपुलले सन् १९८९–९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
साविक विजेतासमेत रहेको म्यान्चेस्टर सिटी ७ खेलअघि नै उपाधिबाट वंचित भएको हो ।
लिभरपुलको ८६ अंक हुँदा म्यान्चेस्टर सिटीको ६३ अंक रहेको छ । निकै सशक्त खेलेको लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ ।
गत सिजन लिभरपुल अन्तिम केही खेलअघिसम्म शीर्ष स्थानमा रहेर पनि म्यान्चेस्टर सिटीसंग पराजित हुँदा उपविजेतामा खुम्भिएको थियो ।
लिभरपुलले उपाधि जितेसंगै उसका समर्थकहरु खुशीले सडकमा उत्रिएका छन् । खेलाडीहरुले पनि खुशी मनाएका छन् । प्रशिक्षक योर्गेन क्लोपले पनि खुशी ब्यक्त गरेका छन् ।