काठमाडौं । भारतीय सेना प्रमुख जनरल एमएम नरवणे लद्दाख पुगेका छन् । भारत र चीनबीच सीमाविवाद चर्किएका बेलामा उनी लद्दाख पुगेर आफ्नो सेनाको मनोबल बढाएका हुन् ।
उनले त्यहाँ पुगेर सेनाहरुलाई जोशका साथ सीमारक्षा गर्न पनि आग्रह गरेका छन् ।
त्यहाँ गत १५ जुनमा भएको भिडन्तपछिको अवस्था बुझ्न र भारतीय सेनाको मनोबल बढाउन भारतीय सेना प्रमुख नरवणे लद्दाख पुगेका हुन् ।
उनले लद्दाखमा रहेको सेनाको क्याम्पको अवलोकन गर्नुका साथै भारतीय सेनाहरुको उच्च नैतिकता कायम राखी उत्साह र जोशका साथ काम गर्न निर्देशन दिएका छन् ।
उनले चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाएका आफना सैनिकरुको नाममा मौन धारण पनि गरेका थिए ।
सेना प्रमुख नरवणे लद्दाखमा दुई दिनसम्म रहेका छन् । १५ जुनको राति गलवान उपत्यकासँग सीमा जोडिएको लद्दाख सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच भडन्त भएको थियो ।
भिडन्तमा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जना मारिएका थिए भने चीनका दुई सैनिक अधिकृतको पनि ज्यान गएको थियो ।
घटनापछि दुई देशको तनाव उत्कर्षमा पुगेको छ । चीनले भने उक्त क्षेत्र आफूहरुको रहेको भन्दै भारतलाई पछि हट्न धम्की दिएको छ ।
संयुक्त राष्ट्रसंघले स्थिति भयावह नहोस् भन्दै दुवै देशलाई संयमित रहेर काम गर्न आग्रह गरेको छ ।