दैलेख । दैलेखमा आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । दुल्लु नगरपालिका–१० गमौडीका २१ बर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।
ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आईपुगेको थिए । भारतबाट फर्किएका ती युवक पञ्चकोशी माध्यमिक विद्यालय गमौडीमा स्थित क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडीटी विधिबाट गरिएको परिक्षणमा नेगेटिभ आएपछि जेठ २५ गते घर पठाईएको थियो ।
क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि झुण्डिएर आत्महत्या गरेका थिए । युवक असार ९ गते बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
आत्महत्या गरेका युवकको शव पोस्टमार्टमका लागि असार १० गते दुल्लु अस्पताल लगिएको र सोहि दिन पोस्टमार्टम गरिनुका साथै कोरोना भाइरस परिक्षण गर्न स्वाब संकलन गरि कर्णाली प्रदेश अस्पताल स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाईएको अस्पताल स्रोतले जनाएको छ ।
प्रगोशालामा गरिएको परिक्षणमा आत्महत्या गरेका ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मी नारायण तिवारीले बताए । ती युवक कर्णाली प्रदेशका कोरोना संक्रमण पुष्टि भएका छैँठौ मृतक व्यक्ति हुन् ।
दैलेखको दुल्लु नगरपालिकामा मात्र मृत्यु भएका तीन जनाका कारोना पुष्टि भइसकेको छ । दैलेखमा जम्मा ७५१ जना सक्रमित रहेका छन् ।