इलाम । इलाम देउमाई नगरपालिका वडा न ४ निवासी बर्ष २५ का मौसम श्रेष्ठ बम पड्किएर शक्त घाइते भएका छन् ।
बम खेलाउँदा उनको दुबै हातको हत्केलामा गहिरो चोट लागेको छ भने हातका औलाहरु गुमेको देउमाई नगरपालिका वडा न ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिए ।
उनका अनुसार बिहीबार बेलुकाको समयमा द्धन्दकालमा भेटिएको बम खेलाउँदा घटना घटेको बताए ।
इलाका प्रहरी कार्यालय मंगलबारेका प्रमुख राजकिशोर साहले प्रारम्भिक अनुसन्धानमा द्धन्दको बेला भेटाएको बमलाई खोलेर चलाउने क्रममा बम पड्किएर घटना घटेको देखिएको बताए ।
२०६२ सालको फाल्गुनमा उनको घर छेउ देवीडाँडामा माओवादी र राज्य पक्षबीच भिडन्त हुँदा माओवादी पक्षमा केही हताहत समेत भएका थिए ।
भिडन्तपछि भेटिएको बमलाई पड्किसकेको सम्झेर खेलाउँदा दुर्घटना भएको बताइएको छ । उनको हाल बिएनसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको परिवारले बताएको छ ।
द्धन्त समाप्त भएर लामो समय भइसके पनि देशका बिभिन्न ठाउँहरुमा अझै माओवादी पक्षले छोडेका बम पड्किएर घाइते हुने तथा ज्यान समेत गुमाउने क्रम रोकिएको छैन ।
गत बैशाखमा रोल्पाको त्रिवेणी गाउँपालिकामा बाख्रा चराउन गएका चार जना बालबालिका बेवारिसे बम खेलाउँदै गर्दा पड्किएर मृत्यु भएको थियो ।
माओवादी २०६३ सालदेखि निरन्तरजसो सत्तामा छ । तर उसले लिएको उद्धेश्य १७ हजार मानिस मर्दा पनि पूरा गरेन ।
शहीदको कदर गरेन । २०६४ सालमै हातहतियार बुझाएको र बम कतै नभएको जनाए पनि अहिलेसम्म पड्किइरहनुले तत्कालीन कमाण्डरहरु प्रचण्ड (हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल) र लालध्वज (जसपाका डा बाबुराम भट्टराई) ले जवाफ दिनुपर्ने बेला आएको छ ।
झुठको खेती गर्नेहरुलाई जनताले जवाफ दिने पालो कहिले होला ।