arrow

नक्कली उपभोक्ता समिति गठन गरेर काम, किर्ते हस्ताक्षर गरी पेस्की

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
kirte-doti.jpg

डोटी। नक्कली उपभोक्ता समिति गठन गरेर एउटा खानेपानी योजनाको काम भईरहेको तथ्य बाहिर आएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ नक्कली भएको खुल्न आएको हो ।

उपभोक्ताहरुको भेलानै नगरेर किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति गठन गरेर गाउँपालिकाबाट पेस्की समेत लिएर काम अगाडि बढेको खुल्न आएको छ । धनबहादुर साउद अध्यक्ष रहेको उपभोक्ता समिति गठन गर्दा र वडा कार्यालयसंग सम्झौताको कागज बनाउँदा समेत कसैको पनि उपस्थित नगराएको स्थानीयको गुनासो रहेको छ । उक्त समिति जेठ १२ गतेका दिन गठन गरिएको छ ।

२०७६ साल फागुन महिनामा सबै उपभोक्ताहरुको उपस्थितिमा कुलप्रसाद ओझाको अध्यक्षतामा सोही योजनाको समिति गठन भईसकेको भएपनि उक्त समितिसंग सम्झौता नगरी गोप्य रुपमा जेठमा आएर अर्को समिति गठन भएर काम अगाडि बढाएको कुलप्रसाद ओझाले बताए । आफुहरुलाई कुनै किसिमको जानकारी नगराइ समिति गठन गरेर काम भईरहेको ओझाले हाम्राकुरालाइ जानकारी दिए। साउद अध्यक्ष रहेको समितिमा सबै कागजात नक्कली बनाइएको भन्दै  हस्ताक्षर समेत  किर्ते गरिएको उनले भने।

फरक सडकको योजनाको समितिमा उपस्थित भएकाहरुको हस्ताक्षर सहितको कागज ल्याएर खानेपानी समितिको फाईलमा राखेर उपस्थिति देखाएको  अर्का उपभोक्ता नवराज ओझाले जानकारी दिए। वडा अध्यक्ष लगाएतको मिलेमतोमा काम अगाडि बढेको र यो कुरा कुनै  उपभोक्ताहरु कसैलाई थाहा नभएको नबराजले जानकारी दिए।
 
तीन लाख रकम रहेको योजनाको ७५ हजार पेस्की लिएर काम अगाडि बढाइएकाे छ । समितिका अध्यक्ष धनबहादुर साउदले गठन प्रक्रिया नक्कली भएको स्वीकार गरेका गरेका छन्  । समिति गठन गर्दा नक्कली काम भएको बताउदै एकदुई जनासंग मौखिक सल्लाह गर्दा हुन्छ भने, मैले पनि काम अगाडि बढाए, यस्तो होला भनेर थाहा पाएन साउदले भने। सबै नक्कली कागजात मिलाएर सहयोग स्थानीय तिर्थ रौतेडाले गरिदिएको अध्यक्ष साउदले जानकारी दिए । अब भने सबैको सल्लाहमा मात्रै बाँकी काम अगाडि बढाउने उनले भने  ।

उता वडा अध्यक्ष रामबहादुर बोहराले भने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको जिकीर गरेका छन् । सडको समितिको माईन्युटलाई ल्याएर यो समितिमा उपस्थिति जनाएका अध्यक्ष बोहराले जानकारी दिए। नमिल्ने काम भएको बताउदै  नक्कली प्रक्रियाबाट उपभोक्ता समिति गठन भएको छ, हामीहरु छानबिन गरेर अगाडि बढ्छौं उनले भने। अहिले काम रोकिएको र पेस्की अनुसारको काम भए नभएको हेरेर यदि भएको छैन भने समितिबाट असुल उपर गर्ने समेत अध्यक्ष बोहराले बताए ।

यदि समिति नक्कली बनाएर पेस्की लिएका हुन भने छानबिन गर्छौ, काम समेत रोक्छौं आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले बताए । उनले आफुलाई अहिलेसम्म सो सम्बन्धमा कुनै जानकारी नआएको बताए ।



लोकप्रिय समाचार
नयाँ