स्याङ्जा। बिरुवा गाउँपालिका को सातौ सभाबाट आगामी आर्थिक वर्ष २०७७/७८ को लागि कुल रकम रु ४० करोड ७२ लाख ९० हजार ३ सय ३४ रुपैयाँ बराबरको नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा मुख्यगरी कृषिको आधुनिकीकरण र व्यवसायीकरण पूर्वाधार विकास शिक्षा स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकता दिई बजेट निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए । सुवेदीका अनुसार कुल बजेटमध्ये ६ करोड २० लाख ५९ हजार ३ सय ३४ रुपैयाँ चालुतर्फ, १६ करोड ३० लाख ३१ हजार पूँजीगततर्फ र १८ करोड, २२ लाख रुपैयाँ वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा ५६ लाख बराबरको नमुना कृषि कार्यक्रम २५ लाख बराबरको कृषक अनुदान कार्यक्रम तथा सिंचाई बिउबिजन र जमिन संरक्षणमा ठूलो रकम विनियोजन गरेको छ । यसैगरी गाउँपालिकाले जनताको जिउँ ज्यानलाई विशेष प्राथमिकता दिई ४० लाख बराबरको कोष स्थापना गरेको छ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई गाउँपालिका मै रोजगारी सिर्जना गर्न ४० लाख बराबरको विशेष प्याकेजको घोषणा गरेको छ । पूर्वाधार विकास तर्फ गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि २ करोड विनियोजन गरिएको छ । गाउँपालिका भित्रका सडकहरूको स्तरोन्नतिको लागि एकमुष्ट रुपमा लाख विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए ।
गाउँपालिकाले शिक्षा स्वास्थ्य र पर्यटन प्रवद्र्धनका लागि समेत उल्लेख्य बजेट विनियोजन गरेको दावी गरेको छ । गाउँसभा गाउँपालिकाका अध्यक्ष चुन प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा स्वागत मन्तव्य वडा नं. ६ का वडाध्यक्ष कृष्ण केसीले गरेका थिए ।
सभामा गाउँपालिका उपाध्यक्ष देवीकुमारी थापाले बजेट पेश गर्दै सिमित साधन स्रोतले गाँउपालिकाको विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा कोरोना नियन्त्रणमा तथा क्वारेन्टाइन व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरिएको बताइएको छ ।