काठमाडौं। इनफ इज इनफका अभियन्ता सत्याग्रहमा रहेकै बेला पक्राउ परेका छन्। उनलाई पाटन कृष्ण मन्दिर अगाडीको पाटीमा अन्नजल त्यागेर सत्याग्रहमा बसेकै बेला प्रहरीले पक्राउ गरेको हो।
ईः सँगै अन्य चारजना अभियानकर्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले ईः सहितका ४ जनालाई शुक्रवार राती नै नियन्त्रणमा लिएको हो। ईः शुक्रवार नै अन्नजल त्यागेर सत्याग्रहमा बसेका थिए।
सरकारले कोभिड १९को उचित व्यवस्थापन नगरेर संक्रमण फैलिएको अभियानले आरोप लगाउँदै आएको छ। सरकारलाई पीसीआर टेस्ट बढाउनुपर्ने, आरडीटी टेस्ट बन्द गर्नुपर्ने, क्वारेन्टाईनको उचित प्रवन्धन गर्नुपर्ने माग समेत अभियानले गर्दै आएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उदय शमशेर राणाले अभियानकर्मी ईःको पक्राउको भत्सर्ना गरेका छन्। नेपालको संविधानले हातहतियार विना शान्तिपूर्ण रुपमा भेला हुन पाउने अधिकार प्रत्याभुत गरेपनि सरकारले सत्याग्रहमा बसेका सत्याग्रहीहरुलाई समेत पक्राउ गरेकोमा राणाले भत्सर्ना गरेका हुन्।
सत्याग्रहीहरुलाई पक्राउ गरेर नेकपाको सरकारले नागरिक स्वतन्त्रता र आफ्नो आलोचना गर्नेहरुलाई कसरी दवाउँदैछ भनेर अर्को उदाहरण पेश गरेको राणाले बताएका छन्।